अमेरिकाले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौं, २८ असार : अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज बिहान नेपाल आइपुगेको छ ।
कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप काठमाडौं आइपुगेको जनाएको छ ।
एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने जनाइएको छ ।
अमेरिकी खोप ५० देखि ५५ वर्ष उमेर समूहलाई दिइने : मन्त्री श्रेष्ठ
अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप ५० देखि ५५ वर्षका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।
मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले पठाएको जोन्सन एन्ड जोन्सन खोप बुझ्दै प्राथमिकताका आधारमा अहिले आएको खोप उक्त उमेर समूहलाई दिइने तयारी गरिएको जानकारी दिए । खोप अभियान छिट्टै सञ्चालन गर्ने पनि मन्त्री श्रेष्ठले बताए ।
अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्रै लगाइने खोप हो ।
