भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै
काठमाडौं, २४ असार : नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको जानकारी दिए । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन लागेकाे बताए । जहाजले भोलि गते खोप ल्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । “तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ । परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।”
उनले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो ।
