उपत्यकामा ४१९ सहित थप २७६० जनामा कोरोना संक्रमण, ४०१७ जना संक्रमणमुक्त

काठमाडौं, १७ असार : पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा अहिले आठ हजार ३५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकासहित मुलुकभरका १५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ । २८ जिल्लामा २०० भन्दा बढी छ ।
नेपालमा कोभिड संक्रमितको कुल संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार १७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर होम आइसोलेसनमा २८ हजार ३७४, संस्थागत आइसोलेसनमा दुई हजार ९९४, आईसीयूमा ६२९ र भेन्टिलेटरमा १८१ जना रहेका छन् ।
नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९३.६८ प्रतिशत पुगेको छ भने मृत्युदर १.४३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३३ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार १४५ पुगेको छ ।
