आज लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, १२ असार : लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीनदिने कार्ययोजनासहित विविध कार्यक्रम संचालन भइरहेका छन् ।

यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share acts on Drugs, Save Lives तय गरिएको छ ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

कार्यक्रम अन्तर्गत ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धताः लागूऔषध अपराध विरुद्धको ऐक्यवद्धता’, ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं अरुलाई पनि लाग्न नदिऔ’, ‘लागू पदार्थको सेवनः गयो अमूल्य जीवन’ भन्ने जनचेतनामूलक नाराहरू तय गरिएका छन् ।

यसैगरी ‘स्वच्छ जीवन उच्च विचार: लागूऔषधको गरौं बहिष्कार’, ‘हामी सबैको आवाज: लागूऔषध मुक्त समाज’, ‘हाम्रो चाहानाः लागूऔषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना’, ‘लागूऔषध त्यागौँ: स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ’, ‘लागूऔषध लिने बानीःस्वास्थ्य र धनजनको हानी’, ‘लागू पदार्थ सेवन नगरौँ, सभ्य समाजको निर्माण गरौँ’, ‘लागूऔषध सेवन नगरौँ, आफू बाँचौँ: अरूलाई पनि बचाऔ’, ‘लागूऔषध नगरौं ओसारपसार: बिग्रिन्छ तपाईंको प्यारो घर संसार’, ‘लागूपदार्थको नशा: जीवनको दशा’, ‘लागूपदार्थको प्रयोगबाट आफू, परिवार, समाज, राष्ट्रलाई नै अतुलनीय क्षति हुँदा यस्ता पदार्थदेखि टाढै रहने प्रण गरौ’ तथा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता: लागूऔषध अपराध विरुद्धको ऐक्यवद्दता’ भन्ने सचेतनामूलक नारा रहेका छन् ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत

संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागूऔषध प्रतिवेदन २०२१ ले लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै गइरहेको देखाएको छ ।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत आकलन गरिएको छ ।

नेपालमा लागूऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागूऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४२४ पुगेको आकलन छ जुन कुल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागूऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ । नेपालको जनसांख्यिक लाभको रुपमा रहेको युवा समुदायलाई लागूऔषध नियन्त्रणको अभियानमा सरिक गराउन यस दिवसले प्रेरणा दिने मन्त्री पौडेलको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.