असार २२ गतेबाट ६० देखि ६४ वर्षकालाई भेरोसेलको दोस्रो डोज

काठमाडौं, ११ असार : सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने छ ।

सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।

डा गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने उनले बताए ।

उक्त खोप पनि चीनले अनुदानमै दिएको थियो । चिनियाँ खोप लगाएकाहरूले दोस्रो मात्रा पनि लगाउन पाइरहे पनि भारतमा उत्पादन भएको कोभिसिल्ड खोप भने झन्डै १३ लाख मानिसले दोस्रो डोज लगाउन बाँकी छ । तर खोप आयात हुन नसक्दा दोस्रो डोज पाउने अनिश्चित बनेको हो ।

सरकारले खोप खरिद गर्नलाई प्रयास गरिरहे पनि त्यसबाट ठोस सफलता मिलेको छैन ।

विभिन्न खोप उत्पादन गर्ने कम्पनीहरूलाई खोप खरिदका लागि पत्राचार गरिए पनि अहिलेसम्म ती कम्पनीबाट खोप उपलब्ध गराउनेबारे कुनै जानकारी आएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.