मन्त्रीहरूको जिम्मेवारी हेरफेर, कसले कुन पाए ?
काठमाडौं, १० असार : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चले पदमुक्त गरेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मा प्रधानमन्त्रीसहित चार मन्त्रीलाई बाँडफाँड गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई गृह, उद्योग, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि, खानेपानी, संचार र सहरी विकास तथा कानुन मन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था, महिला, बालबालिका, पर्यटन र सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।
पछिल्लो पटक थपिएका १८ मन्त्री र २ राज्यमन्त्रीलाई मन्त्रीका हैसियतमा कामकाज नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएसँगै मन्त्रालय रिक्त भएका थिए ।

