प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि निरन्तर सुनुवाइ
काठमाडौं, ९ असार : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ ।
सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो ।
त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् ।
यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो सोही अनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन् ।
असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका हुन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई र दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकसक्युरीको रुपमा चयन गरेको छ ।
त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ । वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका भएका छन् ।
असार ३ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाइसकेका छन् ।
