उपत्यकामा ३३७ सहित थप २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना संक्रमणमुक्त

काठमाडौं, ५ असार : पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा २०१ जना छन् । यस्तै, ललितपुरमा ९२ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।
हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसाेलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टीजेन परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।
