सभामुख सापकोटाले आज शीर्ष नेताहरूसँग छलफल गर्दै, प्रधानमन्त्री नजाने

काठमाडौं, २८ जेठ : सभामुख अग्नि प्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गरेका छन् ।
आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार यो बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ । नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा छलफल हुने बताइएको छ । सरकारले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि सभामुख सापकोटा असन्तुष्ट छन् । त्यसैले उहाँले बोलाएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री नजाने
सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो’ सल्लाहकार थापा भन्छन्, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।’
यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ । मुद्दामाथि सुनुवाइ सुरु भएको छ । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् ।
