काठमाडौं प्रहरीले सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी लिन मानेन

काठमाडौं, १४ वैशाख: महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ ।

आइतबार दिउँसो नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु उजुरी दिन परिसर पुगेपनि उजुरी लिन आनाकानी भएको हो । कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् ।

त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ थिए ।

उनले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए । उनले महोत्तरी घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् ।

तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

नेता भट्टराईले ट्वीटरमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.