कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो ।

नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला विमलेन्द्र निधि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन् । महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन् ।

चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदामा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए ।

त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रियसभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता भएको हो । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ ।

नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ ।

सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् ।

यस्तै केन्द्रीय सदस्य पदमा पाँच सय नौ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

खुलासहित १८ क्लस्टरबाट निर्वाचनमार्फत एक सय सय २१ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ। खुला तर्फबाट निर्वाचित हुने ३५ जनाका लागि एक सय नौ जनाको उम्मेदवारी परेको छ ।

यस्तै थारू क्लस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ । मधेशी क्लस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

सात महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति क्लस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य क्लस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ ।

चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ ९ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम क्लस्टरबाट १६ जनाको उम्मेदवारी परेको छ ।

भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट नौ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.