सुकुटे महोत्सव फागुन १७ देखि २० गतेसम्म हुँदै

काठमाडौँ, ११ फागुन : नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सिन्धुपाल्चोकको समग्र पर्यटन क्षेत्रको विकास प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रथम सुकुटे महोत्सव–२०७६’ महोत्सव आयोजना हुने भएको छ । जिल्लाको सुकुटेसहितका महत्वपूर्ण पर्यटकीयस्थलको प्रचारप्रसार तथा जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित यही फागुन १७ देखि २० गतेसम्म महोत्सव गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सिन्धु पर्यटन व्यवसायी सङ्घको आयोजना तथा वन वातावरण तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय तहको समन्वयमा महोत्सव आयोजना गरिने भएको हो ।

नेपाल भ्रमण वर्षको सन्दर्भमा सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय ‘हव’को रूपमा विकास गर्न तथा जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

सुकुटे क्षेत्रका जलयात्रा, सुकुटे–ओख्रेनीसम्मको पदमार्गको प्रचार तथा स्थानीय उत्पादनको बजारीकरण र बिक्री वितरणको व्यवस्थापन गर्न पहल गरिने जनाइएको छ । तातोपानी नाका, भैरवकुण्ड र जुगल हिमाल जाने प्रवशेद्वारको रूपमा प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

राजधानी काठमाडौँबाट ६८ किलोमिटर दुरीको सुकुटे क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षण बन्दै गएको छ । यो क्षेत्रमा १० वटा रिसोर्ट सञ्चालनमा छन् । दैनिक दुई हजार ५०० पाहुना व्यवस्थापन गर्नसकिने सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

महोत्सवको अवधिमा २० हजार पर्यटक लैजाने आयोजकको दाबी छ । महोत्सवका लागि रु ३० लाख खर्च हुने र झण्डै रु पाँच करोडको कारोवार हुने जनाइएको छ । महोत्सवमा ५० वटा व्यावसायिक स्टल रहने छन् भने विभिन्न खेलकूद गतिविधि तथा सांस्कृतिक प्रस्तुति हुनेछन् । महोत्सवका क्रममा पहिलो पटक सुनकोशीमा ‘वाटर बोट’ शुरु गर्ने कार्यक्रम छ ।

महोत्सवकोको उद्घाटनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र समापनमा सभामुख अग्नी सापकोटाको प्रमुख आतित्थयता रहने छ ।

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने    

हाल आन्तरिक पर्यटकको चहलपहल बाक्लिँदै गएको तनहुँ जिल्लाको विभिन्न पर्यटकीयस्थलमध्ये आँबुखैरेनी गाउँपालिकाअन्तर्गतको छिम्केश्वरीमा ‘छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६’ आयोजना हुने भएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिले नेपाल पर्यटन बोर्ड र आँबुखैरेनी गाउँपालिकाको सहयोगमा यही फागुन २५ देखि २७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो । छिम्केश्वरी पर्यटन विकास समितिका निर्देशक हीरासिंह गुरुङले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेर पनि गति लिन नसकेको छिम्केश्वरी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

धार्मिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउने महोत्सवको लक्ष्य रहेको छ । छिम्केश्वरीमाईको मन्दिर निर्माणका साथै सांस्कृतिक संरक्षणमा जनचेतना अभिवृद्धि गर्न महोत्सवले सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि पुज्य र आराध्यस्थलको रूपमा रहिआएको छ । समुद्री सतहदेखि दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरी मन्दिर परिसरबाट मनोरम हिमशृङ्खलाको दृश्वावलोकनका साथै स्थानीय संस्कृति र जनजीवनको अवलोकन गर्न पाइन्छ । सात देवीहरुमध्ये जेठी बूढीदेवीमाई र माहिली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् । साहिँली गोरखकालीमाई, काहिँली मनकामनामाई, अन्तरी इच्छा कामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्वावलोकनसहित दर्शन गर्न सकिन्छ ।

यी सात देवीमध्ये छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकाङ्क्षा पूरा नहुने जनविश्वास रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.