रामपुर नगरपालिकालाई छोएन भ्रमण वर्षको कार्यक्रमले

सुशीला रेग्मी । बेझाड (पाल्पा), २८ पुस : नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा लिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ । भ्रमण वर्ष जनवरी १ तारिखका दिन देशभरी भव्य रुपमा शुभारम्भ गरियो ।

संघ, प्रदेश, जिल्ला र स्थानीय तहले पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । तर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पाल्पाको रामपुर नगरपालिकामा भने भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि कार्यक्रम सुरु भएको छैन ।

देशैभरी भ्रमण वर्षको रौनकता बढेका बेला रामपुर नगरपालिकाले भ्रमण वर्ष लक्षित गरी कुनैपनि कार्यक्रम अगाडी बढाएको पाइदैन ।

यहाँ प्रशस्त पर्यटकियस्थलहरु छन् । लुम्बिनी र पोखरा शहरको बीच भागमा रहेको रामपुरमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ । तर भ्रमण वर्ष मनाउने योजना रहेपनि पर्यटकका लागि अहिले सम्म कुनैपनि बिशेष कार्यक्रम भने नगरिएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

“रामपुरमा प्रशस्त पर्यटकियस्थलहरु छन्, भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटकहरु रामपुरमा आउनेछन्” प्रवक्ता न्यौपानेले भन्नुभयो ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिव ६५ किलोमिटर पूर्वको दूरीमा रामपुर उपत्यका अवस्थित छ । रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भूभाग, डाडाकाँडाको बीचमा पर्ने सुन्दर शहरको रुपमा अगाडी बढ्दैछ रामपुर ।

रामपुर नगरपालिका भित्र ऐतिहासिक तथा पर्यटकिय, धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ कास्की पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामूदायिक बन, रामकुवा, तातोपानी घाट लगायतका महत्वपूर्ण क्षेत्र छन् । यी क्षेत्रले पर्यटकलाई लोभ्याइरहेको छ ।

रामपुर नगरपालिकाले प्रशस्त पर्यटकिय स्थल, विभिन्न जातजाती, भाषाभाषी, कला संस्कृति र रहनसहन रितिरिवाजले भरिपूर्ण रहेपनि भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि योजना ल्याएको सुन्नमा नआएको स्थानीयवासी रामचन्द्र भट्टराई बताउनुहुन्छ ।

“अरु ठाउँमा स्थानीय तह भ्रमण वर्ष सफल पार्न सक्रिय भएर लागेका छन्, रामपुर नगरपालिका भित्र भने भ्रमण वर्षका कुनैपनि गतिबिधि छैनन्” उहाँले भन्नुभयो ।

अन्य क्षेत्रमा भ्रमण वर्षलाई लक्षित गरी विभिन्न कार्यक्रम उत्साहजनक रुपमा भइरहदा रामपुर नगरपालिका भित्र भने शुन्य रहेको पाइएको छ ।

विभिन्न स्थानीय तहले ठाउँ ठाउँमा भ्रमण वर्ष जनाउने सुचना पार्टीहरु राख्ने गरेको पाइएपनि रामपुरमा भने भ्रमण वर्ष जनाउने कुनैपनि गतिबिधि नभएको उद्योग वाणिज्य संघ रामपुरका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

“भ्रमण वर्षमा धेरै भन्दा धेरै बाह्य पर्यटक रामपुर भित्र्याउन सकियो भने यो क्षेत्रको विकास हुनेछ, भ्रमण वर्ष लक्षित गरेर उद्योग वाणिज्य संघले पनि विभिन्न कार्यक्रम गर्ने योजना छ” श्रेष्ठले भन्नुभयो ।

नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकी, प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा रामपुर नगरपालिका भित्र दुई वटा पक्की पुल निर्माण भई चालु अवस्थामा छन् । यसले पर्यटक आवतजावतमा सहजता ल्याएको छ ।

कास्की फेवातालको झल्को दिने पर्यटकिय तालपोखरा पनि यहीँ पर्छ । रामपुरमा भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने ठुलो संख्यामा पर्यटक भित्र्याउन सकिने तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।

“भ्रमण वर्षलाई लक्षित गरी शिवरात्रीमा बिशेष मेला आयोजना गर्ने र धेरै पर्यटक रामपुर भित्र्याउने योजना छ, भ्रमण वर्षमा तालपोखरामा अघिल्ला वर्षको तुलनामा दोब्बर बढी पर्यटक आउने वातावरण सिर्जना गर्दैछौ” अध्यक्ष देवकोटाले भन्नुभयो ।

भ्रमण वर्ष सफल पार्न रामपुर नगरपालिकाले सामाजिक संघ संस्था संग समन्वयकारी भुमिका खेलेर पर्यटक रामपुर ल्याउने वातावरण सिर्जना गर्नुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.