पर्यटकको रोजाईमा रामपुरको ‘सिद्धबाबाधाम’

सुशीला रेग्मी । (पाल्पा), २५ पुष : सलल बगेको कालीगण्डकीको तीर, त्यही तीरैको आडैमा सबैको मनै लोभ्याउने सिद्धबाबाधाम भुजात । यसको सुन्दर दृश्यसंग रमाएर आनन्दानुभुती लिन पुग्ने आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दो छ ।

रामपुर नगरपालिका ८ को भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र अहिले पर्यटकिय गन्तव्यस्थल बनेको छ । यहाँ पुग्ने जोकोही पर्यटक कालीगण्डकीको सुन्दरता, फराकिलो समथर चउर, सिद्धबाबाधामको दृश्य देखेर लालयित हुने गर्छन् ।

यो क्षेत्र बिशेषगरी प्रेम जोडीको लागि घुम्ने र आनन्दानुभुती लिने स्थल पनि बनेको छ । प्रकृतिले नै दिएको सुन्दरतासंग रमाउने र फोटो खिचाउनेको चहलपहल हुन्छ ।

शनिवार र विदाका दिन यहाँ धेरै आन्तरिक पर्यटकहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वराज भट्टराई बताउनुहुन्छ ।

“यस क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरेपछि पर्यटकको ह्वात्तै आकर्षण बढेको छ, कालीगण्डकीको तीरमा भएकाले पनि सिद्धबाबाधामले पर्यटक तानिरहेको छ” उहाँले भन्नुभयो ।

पर्यटकिय, धार्मिक क्षेत्र सिद्धबाबाधामलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । सिद्धबाबाधामको धार्मिक, पर्यटकिय महत्व बढ्दै जान थालेपछि पर्यटकको आकर्षक गन्तव्य स्थलको रुपमा यो क्षेत्र परिचित हुन थालेको छ ।

कालीगण्डकी नदी किनारको मनोरम दृश्यले यसको पर्यटनमा झन् सुन्दरता थपेको छ । रामपुर नगरपालिकाले उत्कृष्ट पर्यटकिय क्षेत्रको रुपमा घोषणा गरेपछि सिद्धबाबाधाम क्षेत्रको महत्व बढ्दै गएको हो ।

सिद्धबाबाको प्राकृतिक सुन्दरता, यहाँको वातावरण देख्दा मनै लोभ्याउने खालको रहेको तुल्सीराम काफ्ले बताउनुहुन्छ ।

“पहिलो पटक घुम्न आएको यहाँको सुन्दरता अत्यन्तै राम्रो लाग्यो, सिद्धबाबाको धार्मिक तथा पर्यटकिय सुन्दरता देख्दा नआउनेलाई पनि फेरी पनि आउँ आउँ बनाउने खालको छ, अब अर्को पटक परिवार, साथीभाई सहित फेरी घुम्न आउनेछु” उहाँले भन्नुभयो ।

सिद्धबाबाको महत्व तथा ईतिहास

कालीगण्डकीको नदी किनारैमा रहेको ओढारमा स्थानीयवासीले सिद्धबाबाको उत्पत्ति हुनुपूर्व पानी आउँदा ओत लाग्ने गर्दथे । सोही ओढारमा विसं २०५१ असार १४ गते भुजातका स्थानीयवासी दिनेश अधिकारीले राती सपनामा सिद्धबाबाको मुत्र्ति देखेपछि भोलिपल्ट ओढारमा गएर हेरेपछि सिद्धबाबाको मुर्ति भेटिएको किम्बदन्ती रहेको छ ।

त्यस समयपछि यस ओढारलाई संरक्षण गर्दै यहाँका स्थानीयवासीले अहिले पर्यटकिय क्षेत्रको रुपमा सिद्धबाबाधाम क्षेत्रलाई चिनाउन सफल भएका छन् । यस ओढार आसपासका क्षेत्र विकास गर्दै जादा यहाँ दिनहुँ थुप्रै पर्यटकको संख्या बढ्दै गएको छ ।

ओढारका भित्रि तथा बाहिरी भुभागमा विभिन्न देवी देवताका आकृतिहरु प्रशस्तै देख्न सकिन्छ । ओढार नजिकै नवज्योती आमा समुह भुजातद्धारा निर्मित मन्दिरमा दुर्गाको मूर्ति रहेको छ भने आसपासमा शिवजीको मुर्ति, बसाहा, एक सय आठ शिवलिंग निर्माण गरेपछि यहाँको सुन्दरता बढ्दै गएको छ ।

एकसय आठ शिवलिंगमा फोटो खिचाउने र अवलोकन गर्ने युवायुवति र प्रेमजोडि बढी भेटिन्छन् । झण्डै ३५ रोपनी क्षेत्रफलमा फैलिएको सिद्धबाबाधाम क्षेत्रको पर्यटकिय आकर्षणमा कालीगण्डकीले थप टेवा पु¥याएको छ ।

यहाँ शिवरात्री पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्दछ । यस सिद्धबाबा मन्दिरमा किसानले घरमा पालेका गाई भैसी ब्याएपछि दुध चढाउन आउने गर्दछन् ।

मन्दिरको उत्तरी भेगमा कलकल बग्ने पवित्र कालीनदी, पश्चिमतर्फ पिपलपाटा सामुदायिक वन, उत्तर पश्चिमतर्फ हरियाली खुल्ला चउर, खेलमैदानले यहाँको पर्यटकिय क्षेत्रलाई आकर्षकको केन्द्र बनाएको छ ।

यस क्षेत्रमा यहाँका स्थानीयको सक्रियतामा मन्दिर प्रवेशद्धारा, मन्दिर कम्पाउण्ड, ऋषिमुनिको मुर्ति, पौवा, सार्वजनिक शौचालय, टर्मिनल निर्माण गरिएको छ । सिद्धबाबाधाम क्षेत्रको पर्यटकिय आकर्षणको केन्द्रले यहाँको स्थानीयको आयआर्जन बृद्धिमा ठुलो सहयोग पुग्नेछ ।

यहाँ विवाह, ब्रतबन्ध, वनभोज, अवलोकन भ्रमण लागि निकै आकर्षक गन्तव्य बनेको छ । वनभोजका लागि बिजुली, खानेपानीको राम्रो प्रबन्ध छ ।

बनभोज आउने एक समुहबाट रु पाँच सय शुल्क लिने गरिएको छ । यहाँ दैनिकजसो विभिन्न ठाउँ ठाउँबाट विद्यालय, संघ संस्था, क्लव, समुहबाट बनभोज आउने गर्छन् ।

यो वर्ष रामपुर नगरपालिकाले कम्पाउण्ड निर्माणका लागि रु पाँच लाख रकम विनियोजन रामपुर नगरपालिका वडा नं ८ का वडा सदस्य मोहन श्रेष्ठले बताउनुभयो ।

“भौगोलिक भु वनोट मिलेको यस क्षेत्रमा प्राकृतिक सुन्दरतामा रमाउन आउने आन्तरिक पर्यटकको उत्साह राम्रो छ, यहाँ भौतिक पूर्वाधारमा क्रमश विकास गर्दै गएर यसलाई मुलुककै उत्कृष्ट पर्यटकिय गन्तस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढेका छौँ” उहाँले भन्नुभयो ।

कालीगण्डकीमा राम्दीदेखि जलयात्रा गर्दै आएका पर्यटकहरु पनि यहाँको सुन्दर दृश्यसंग रमाउन केही समय जलयात्रा रोकेर बस्ने गर्छन् ।

रामपुर नगरपालिकाले वडा नं ७ को बाहुनडाँडामा प्याराग्लाईडिङ्ग उडान सुरु गरेर यही सिद्धबाबा परिषरमा अवतरण गर्ने योजनाका साथ व्यवसायिक प्याराग्लाईडिङ्ग संचालन गर्ने अवधारणा बनाएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“पर्यटकिय क्षेत्रलाई विकास गरी नमुना नगरका रुपमा चिनाउन पूर्वाधार निर्माणका काममा जोड दिएको छ, रामपुरलाई पर्यटकिय नगरका रुपमा विकास गर्नेछौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

यस क्षेत्रमा चिडियाखाना, बाल उद्यान निर्माण, मन्दिर आसपासका तटिय क्षेत्रको विकास गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.