दिक्तेल रुपाकोट मझुवागढीको पर्यटन प्रवद्र्धनमा जोड
केदार मगर । खोटाङ, ५ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रवद्र्धनको कामलाई जोड दिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो नगरपालिकाले पर्यटकीय नगर बनाउने उद्देश्यका साथ नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति गर्ने कामलाई जोड दिएको हो ।
अहिले नगरपालिकाभित्र पर्ने १५ वटै वडाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति धमाधम भइरहेको छ । रुपाकोट, मझुवागढी, भुलभुले दूधकुण्ड तथा रुवालुङ झरना, साप्सुढाप, बगरेभञ्ज्याङ, महुरेगढी लगायतको स्तरोन्नति गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखिएको सो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं १४ बुइपामा विश्वकै अग्लो यलम्बरको पूर्णकदको मूर्तिसहित यलम्बर उद्यान निर्माण शुरु गरिएको छ । प्रदेश नं १ सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानीमा किराती प्रथम राजा यलम्बरको पूर्णकदको मूर्तिसहित यलम्बर पार्क निर्माण शुरु गरिएको हो । तीस रोपनी सरकारी जग्गामा १०० फिट अग्लो यलम्बरको मूर्तिसहित निर्माण गरिने उद्यान करीब रु १४ करोड लागतमा पूरा हुने जनाइएको छ । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माणाधीन यलम्बर उद्यानका लागि नगरपालिकाले गत आव रु ७२ लाख बजेट विनियोजन गरेको थियो ।
किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपा बजारस्थित पञ्चदोबाटोमा यलम्बर पार्क निर्माण शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “यलम्बर उद्यान निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “बुइपामा निर्माणाधीन यलम्बर पार्कले नगरपालिकाको मात्र नभई प्रदेश नं १ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण शुरु गरिएको पार्कभित्र घुमफिर गर्ने, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाइ सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको यलम्बर पार्कमा अहिले प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम सम्पन्न भएको छ ।
किराती ऐतिहासिकस्थल बुइपामा ढलौटबाट बन्ने यलम्बरको मूर्ति विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ । आफ्नो क्षेत्रमा किराती समुदायका पहिलो राजा यलम्बरको मूर्तिसहितको उद्यान निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् ।
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर उद्यान पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने जनाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण शुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो ।
यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गम थलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर पार्कलाई महत्वका साथ हेरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले सो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई छोएकाले पर्यटन विकासको सम्भावना प्रवल रहेको जनाइएको छ ।
नगरभित्रका धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति नसक्दै पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् । नगरभित्रका अधिकांश धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति सकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि गत आर्थिक वर्ष रु दुई करोड १८ लाख २२ हजार ९५० रकम विनियोजन गरेको थियो ।
नगरपालिकाको लगानीमा रुपाकोटमा भ्यू–टावर (दृष्यावलोकनस्थल), भुलभुले दूधकुण्ड तथा रुवालुङ झरनामा पदमार्ग, प्रवेशद्वारलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण, महुरेगढीमा आँखापोखरी, बगरेभञ्ज्याङमा कृत्रिम ताल तथा पेनटावर (निर्माणाधीन), मझुवागढीमा प्रवेशद्धार तथा पदमार्ग, साप्सुढापमा घेराबार तथा पाटी, अल्छेढुङ्गामा वाइफाइ पार्क र बुइपामा सीतादेवी मन्दिर निर्माण गरिएको छ । नगरपालिकाका अन्य विभिन्न ठाउँमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति गर्ने काम भइरहेको जनाइएको छ ।
