राष्ट्रपति हमिदद्वारा फेवातालमा धर्मपत्नीका साथ जलविहार

नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै । तस्वीरः प्रदीपराज वन्त

पोखरा, २८ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ । नेपाली सेनाको विशेष हेलिकप्टरबाट यहाँ आउनुभएका उहाँलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता एवं उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो ।

राष्ट्रपतिको स्वागतार्थ विमानस्थलको अतिविशिष्ट कक्षबाट उहाँ सवार हेलिकप्टरसम्म नै रातो कार्पेट बिच्छ्याइएको थियो । हेलिकप्टरबाट झर्नासाथ क्रमशः नेपाली परम्परागत पोशाकमा सजिएका पञ्चकन्या प्रदेश प्रमुख, कावा मुख्यमन्त्रीलगायत उच्चपदस्थ अधिकारीले गर्नुभएको स्वागतमा राष्ट्रपति हमिद प्रफुल्लित देखिनुहुन्थ्यो । विमानस्थलमा उहाँको स्वागतार्थ पञ्चैबाजा पनि बजाइएको थियो ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल भ्रमणमा रहनुभएका भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै । तस्बिर: प्रदीपराज वन्त

विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहनुभएका हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुग्नुभएको थियो ।

उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उहाँको भव्य स्वागत गरेका थिए ।

यस्ता अति विशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको पर्यटन व्यवसायी एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिहीबार पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन । तस्वीरः वासुदेव पौडेल

“राष्ट्रपति हमिदको भ्रमणले पुनःएकपटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ”, उहाँले भन्नुभयो, “अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्नेछ ।”

पोखराको प्राकृतिक सुन्दरता र यहाँबाट देखिने रमणीय हिमाली दृश्यले जो कोहीलाई पनि लोभ्याउने गरेको बताउँदै उहाँले मौसमका कारण आज भने आशातित हिमाल खुल्न नसकेको बताउनुभयो ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिहीबार पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेशका कावा मुख्यमन्त्री किरण गुरुङ । तस्वीरः वासुदेव पौडेल

फेवाताल किनारमा पुग्नुभएका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गर्नुभएको थियो । जलविहारका क्रममा उहाँले ठाउँठाउँमा सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्नुभएको थियो ।

जलविहारपश्चात् राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गर्नुभयो । रुपाकोटको दृश्यावलोकनपश्चात् उहाँ सिधै काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

राष्ट्रपति हमिदको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको थियो । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.