पर्यटकको पर्खाइमा बराहताल

म्याग्दी, २१ भदौ : पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा परेको छ ।

जलजला गाउँपालिका–२ पुरानोगाउँस्थित बराहताल पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हो । बराहतालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीयवासीले सक्रियता देखाएका छन् । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करीब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल रहेको छ । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा रहेको स्थानीयवासी शिव अधिकारीले बताउनुभयो ।

यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । नजिकै रहेको बाँसखर्कमा पर्यटकको चहलपहल बढे पनि बराहतालमा सुनसान छ । तालको विशेषताबारे प्रचारप्रसार नहुँदा उक्त क्षेत्र ओझेलमा परेको हो । सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करीब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । सो ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने बाँसकर्खको नजिकै रहेको छ । अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागिसमेत उपयोग गरिएको छ ।

जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको विद्याज्योति माविका शिक्षक जीवन कार्कीले बताउनुभयो । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेका छन् । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ । तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ । केही वर्षयता सरकारी निकाय र स्थानीयवासीको पहलमा ताल संरक्षणको काम भएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङ, सिँचाइ विकास डिभिजन कार्यालय पर्वत र वडा कार्यालयको सहयोगमा स्थानीयवासीले ताल परिसरमा पक्की पर्खाल निर्माण गरेका छन् । त्यहाँ एक सय ५४ मिटर पक्की पर्खाल लगाइएको बराहताल संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । थप ७५ मिटर पर्खाल निर्माण गर्न बाँकी छ । गत वर्ष सरकारी निकायबाट रु १६ लाख बजेट प्राप्त भएको केसीले बताउनुभयो । गाईभैँसीले तालमा फोहोर गर्ने समस्या रोकिएको छ । ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली तथा बाहिरी भागमा घेरबार लगाउनुपर्ने आवश्यकता रहेको वडाध्यक्ष गोविन्द खत्री बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.