गीत सङ्गीतबाट पर्यटन प्रवद्र्धन प्रभावकारी अभियान
भरत केसी बुटवल, १० असोज :
झमक्क साँझमा, घुम्न आउनुस् गण्डकी माझमा
गलबन्दी……….!
गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय बोलाउन खोजेको आफ्नै ठानेर ।
विश्व पर्यटन दिवसको बिहानै नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा चर्चित युवा गायक प्रकाश सपुत आफ्नै स्वरको चर्चित गीत गलबन्दी भाकामा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको गीत गाउँदा पर्यटन व्यवसायी हर्षित भए । उनीहरुले भन्दै थिए, “पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न उपयुक्त माध्यम गीतसङ्गीत नै हो ।”
गण्डकी प्रदेश भ्रमण वर्ष २०१९, नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ समेतको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन, अनुभव आदानप्रदानका सन्दर्भमा नेपालकै सबैभन्दा बढी स्थलमार्गबाट पर्यटन भित्रिने नाका बेलहियाबाट विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी आउने पर्यटकलाई पोखरामा समेत कसरी पु¥याउन सकिन्छ भनेर प्रदेश नं ५ सरकार र पर्यटन व्यवसायीसँग छलफल गर्न आएको गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्रीको नेतृत्वमा पर्यटन व्यवसायीको टोलीसहितको प्रदेश नं ५ सरकारले आयोजना गरेको कार्यक्रममा गायक प्रकाशले गीतको माध्यमबाट भमणको निम्तो गर्दा आकर्षण बढेको थियो ।
आउ पोखरा एक चोटी, बिन्ती कोटीकोटी, आउ पोखरा एकचोटी
मुस्ताङतिर जाँदाखेरी दर्शन गर्ने हामै्र मुक्तिनाथ ।
माछापुच्छ्रे र फेवातालले दिराख्या छन् साथ ।
हेर्न आउनुस् एकचोटि, बिन्ती कोटीकोटी ।
वरिष्ठ दोहोरी गायक प्रजापति पराजुलीले रोइला भाकामा बिन्ती नै गरेर गण्डकी प्रदेशमा घुम्न निम्ता दिँदा त विश्व पर्यटन दिवस कार्यक्रममा साँचिक्कै पर्यटकीय माहोल बनेको महसुस भयो । प्रदेश नं ५ को आयोजनामा पर्यटक प्रवेश गर्ने प्रवेशद्वार बेलहियामा बाजागाजा र झाँकीसहित मनाइएको पर्यटन दिवशमा प्रदेश नं ५ र गण्डकी प्रदेशमा कसरी पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले बहस शुरु गरेका छन् ।
पर्यटन प्रवद्र्धनका लागि प्रदेश गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितको टोलीले प्रदेश ५ सरकारसँग समन्वय गरेर बेलहियालगायत बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको समेत भ्रमण गरेर यस क्षेत्रको पर्यटन प्रवद्र्धनका बारेमा अनुभव आदानप्रदान गरेको छ ।
विश्व पर्यटन दिवस कार्यक्रममा प्रमुख अतिथि रहनुभएका मन्त्री लम्सालले मुलुकमा समृद्धि हासिल गर्ने महत्वपूर्ण माध्यम नै पर्यटन भएको बताउनुभयो । उहाँले गण्डकीको पर्यटनलाई लुम्बिनीसँग नजोडेसम्म पर्यटन प्रवद्र्धन हुन नसक्ने भएकाले पहिलो लक्ष्य बनाएर लुम्बिनीमा आएको बताउनुभयो । गण्डकी प्रदेशले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन गण्डकी भ्रमण वर्ष २०१९ आयोजना गरेको र प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका कुनै न कुनै कार्यक्रम आयोजना गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।
प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको नेपालमा पर्यटन पूर्वाधार निर्माण गरेर पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्राकृतिक सम्पदा छन्, पर्वतमालाहरु छन्, नदीनाला तालहरु छन्, ती स्वयं स्वर्गको रूपमा छन्, यिनको प्रवद्र्धन गरेर समृद्धिको दिशामा अग्रसर हुनुपर्छ ।”
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव तोयानाथ ज्ञवालीले पर्यटन आगमनसँगै पर्यटकको बसाइ अवधि र खर्च गर्ने बानीलाई बढाउने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव राधा वाग्लेले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।
प्रदेशसभा सदस्य सन्तोष पाण्डे, भिजिट नेपाल २०२० का सहसंयोजक माधव नेपाललगायतले पर्यटकको आगमन र बसाइ अवधिमा कसरी वृद्धि गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।
