सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न अन्तुडाँडामा पर्यटकको घुँइचो

वासुदेव पौडेल । इलाम (अन्तुडाँडा), ४ असोज : झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ ।
इलामको सूर्याेदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ घरवास (होमस्टे) र चार पाँचवटा होटेललाई पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । तराई मात्र नभई नेपालका प्रसिद्ध पर्यटकीय स्थलबाट समेत पर्यटक अन्तुडाँडा पुग्ने गरेका छन् । यहाँ आउने जो कोही पर्यटकले यहाँबाट देखिने मनोरम दृश्य हेर्न लोभिने गरेका छन् ।
भरतपुर महानगरपालिका–१८ घर भई विगत डेढ दशकयता पोखरा बस्दै आएका लक्ष्मण कँडेलले अन्तुडाँडा आइपुग्दा यहाँको दृश्यले आफू निकै प्रभावित भएको बताउनुभयो । हरिया चिया बगान, आकर्षक देखिने सूर्योदय, वरपरका पहाडी दृश्य सबै हेर्नै पर्ने स्थल भएको उहाँले बताउनुभयो ।
समुद्री सतहबाट करीब दुई हजार ३०० मिटर उचाइमा रहेको अन्तुडाँडामा रहेका चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख यहाँका आकर्षण हुन् । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी होटेल तथा होमस्टेमा स्थानीयले लगानी बढाउँदै गएको स्थानीय पर्यटन व्यवसायी एवं होमस्टे एशोसिएशनका केन्द्रीय सदस्य एकराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका ४५ घरमा होमस्टे सञ्चालन गरिएको छ भने पाँच वटा होटेल रहेका छन् ।
प्रायः वर्षभर नै पर्यटकको आगमन हुने गरेको बताउँदै उहाँले यहाँबाट झण्डै १५ मिनेट नाङ्गो आँखाले सूयोदय देख्न सकिने जानकारी दिनुभयो । यहाँबाट भारतको दार्जलिङ घुमपहाडलगायतका रमणीय दृश्य पनि नियाल्न सकिन्छ । श्रीअन्तु परिसरमा रहेको सुन्दर ताल पनि यहाँको अर्को आकर्षण हो । तालमा देखिने धुपी सल्लाका बोटहरू, चिया बगानको छायाँले अर्को आकर्षण थपेको छ ।
चिसो हावापानीका कारण गर्मी छल्न र दृश्यावलोकन गर्न भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको अर्का पर्यटन व्यवसायी रत्न खड्काले बताउनुभयो । नेपालको पयटकीय विकासमा श्रीअन्तुले महत्वपूर्ण योगदान दिएको बताउँदै उहाँले यहाँको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाटै थप पहल भएमा यो आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने धारणा राख्नुभयो ।
सूर्योदयका लागि झिसमिसेमा अन्तुडाँडा उक्लने पर्यटकलगायत तराईका समथर फाँटहरू अनि भारतीय शहरमा बलेको बत्तीको झिलिमिलीसमेतको अनुभव गर्न पाउँछन् । अन्तुले पर्यटकीयरुपमा २०४०/४१ सालदेखि चासो र चर्चा पाए पनि देशको द्वन्द्वात्मक अवस्था पछि मात्रै गति लिएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।
विसं २०५२ देखि पेइङ गेष्टका रुपमा यहाँ स्थानीयले होमस्टे शुरु गरे पनि होमस्टेका रुपमा व्यवसायले गति भने २०५७ कात्तिक २२ देखि लिएको उहाँले जानकारी दिनुभयो । पोखरामा पर्यटन व्यवसायमा क्रियाशील हाइग्राउन्ड एडभेन्चर नेपालका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जन अन्तुडाँडाको धेरै पर्यटकीय सम्भावना रहेको बताउनुहुन्छ ।
सूर्योदय हेर्नकै लागि इलामको अन्तुडाँडासहित पोखराको सराङकोट, म्याग्दीको पुन हिल पर्यटकका आकर्षण बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो ।
पर्यटकीय प्रचारका लागि आउँदो मङ्सिरमा महोत्सव गरिने
मुलुककै प्रमुख पर्यटकीयस्थलमा पर्ने यहाँस्थित कन्याम, अन्तुलगायतका क्षेत्रको पर्यटकीय प्रचारका लागि आउँदो मङ्सिरमा महोत्सव लगाइने भएको छ । केही समय मात्र प्रदेश नं १ को पर्यटकीय नगरी नामकरण भएको सूर्योदय नगरपालिकाको आयोजनामा महोत्सव गरिन लागिएको हो ।
भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै लाग्ने महोत्सवमा स्थानीय पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको हो । महोत्सव आगामी मङ्सिर १४ देखि २१ गतेसम्म लाग्ने छ । महोत्सव पर्यटन प्रवद्र्धनका लागि लाग्ने भएकाले सूर्योदय क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रभर लगाइने नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिनुभयो । महोत्सव श्रीअन्तु, कन्याम, पशुपतिनगर, फिक्कल बजार, गोर्खे थुम्के र पञ्चकन्या तथा करफोकमा आयोजना गरिने छ ।
भट्टराईका अनुसार महोत्सवको उद्घाटन श्रीअन्तुमा हुनेछ भने फिक्कल बजारमा समापन कार्यक्रमको आयोजना गरिनेछ । महोत्सवमा स्थानीय उत्पादनको समेत प्रदर्शन गरिनेछ भने साहित्यिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । इलाममा रहेर साहित्यिक सिर्जना गर्दै रहेका साहित्यकारसँगै जिल्ला बाहिरका साहित्यकारको समेत महोत्सवमा जमघट रहनेछ ।
महोत्सवलाई भव्य र व्यवस्थित बनाउन मुख्य कार्यक्रम हुने छ स्थानमा क्षेत्रगत उप–समितिको संयोजक तोकिएको उप–प्रमुख भट्टराईको भनाइ छ । नगरभित्र धेरै उल्लेख्य पर्यटकीय क्षेत्र र सांस्कृतिक विषयवस्तु भए पनि प्रचारप्रसार हुन नसक्दा गुमनाम बन्ने खतरा बढेको भन्दै नगरले महोत्सव आयोजना गर्न लागेको हो ।
सूर्योदयका लागि महत्वपूर्ण मानिने अन्तु, घुम्नका लागि मनोरम क्षेत्र कन्याम भएकाले पनि बर्सेनि यहाँ घुम्न आउने पर्यटकको ओइरो लाग्ने गरेको छ । नेपालमा मात्र नभई पछिल्लो समय भारतीय क्षेत्र दार्जिलिङ, सिक्किम र कालेम्पुङ क्षेत्रमा घुम्न पुग्ने पर्यटक पनि यी क्षेत्रमा आउने गरेका छन् । केही महीनाअघि मात्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा एक कार्यक्रमबीच यस नगरलाई ‘पर्यटकीय नगरी’ घोषणा गरिएको थियो ।
