सुन्दरीजलमा पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव’

काठमाडौँ, २८ असार : सुन्दरीजलस्थित स्यालमती खोलाको झरनामा आज पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव–२०१९’ आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल क्यानोनिङ एशोसिएसनले महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा सहभागी १०० मध्ये ६५ जनाले क्यानोनिङ गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र लामाले जानकारी दिनुभयो । संस्थाले सन् २००८ देखि नेपालमा क्यानोनिङको विकास प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्दै आएको छ । क्यानेनिङ डोरीको सहायताले पानीको छाँगामा चिप्लेटी खेलिने साहसिक खेल हो । यसमा झरना (छाँगा) को शिरबाट फेदीमा ओर्लेर मनोरञ्जन गरिन्छ ।

यो डोरीमा तुर्लुङ झुण्डिएर पानीमा रुझ्दै, ढुङ्गामा चिप्लिँदै र दहमा ड्राइभ हान्दै खेलिने साहसिक खेल हो । यसका लागि झरनाको शिरमा अङ्कुश गाडिन्छ । त्यसमा डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झरिन्छ । नेपाल क्यानोनिङ एशोसिएसनले नेपालका करीब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको जनाएको छ ।

काठमाडौँको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, सिन्धुपाल्चोकका जम्बु, काब्रे, हाँडी, गलुङ र फयाङफुङ झरना तथा धनकुटाको नमस्ते झरनामा व्यावसायिक रुपमा क्यानोनिङ गराइन्छ । त्यसबाहेक स्याङ्जा, मनाङ, धादिङ, ओखलढुङ्गा र पर्वतका केही झरनामा क्यानोनिङ हुन्छ । नेपालमा वार्षिक करीब १० हजारले नेपालका झरनामा क्यानोनिङ गर्ने गर्छन् । तीमध्ये एक हजारको सङ्ख्यामा विदेशी हुन्छन् । नेपालमा झण्डै ५० क्यानोनिङ गाइड रहेका अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.