इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले सिँगारिएको ठिनी 

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय ठिनी गाउँ । तस्वीर: रामबहादुर थापा

रामबहादुर थापा । बागलुङ, २८ जेठ : जोमसोम बजारको दक्षिणपट्टि एउटा रमणीय गाउँ छ, ठिनी । गाउँलेले ठिनीलाई ‘लुकेको हीरा’ मान्छन् । नीलगिरि हिमालको काखैमा छ, ठिनी गाउँ ।

ठिनीको चिनारी प्राकृतिक सौन्दर्य र भू–वनोटमा मात्र समेटिन्न । इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले ठिनी सिँगारिएको छ । थकाली बाहुल्य ठिनी गाउँ मुस्ताङको उदाउँदो पर्यटकीय गन्तव्य हो ।

मुस्ताङ घुम्नेले ठिनीलाई लक्ष्य बनाउन थालेका छन् । जोमसोमदेखि दुई किमि दूरीमा उक्त गाउँ छ । जीप, मोटरसाइकलमा सजिलै पुग्न सकिन्छ । पैदल ३० मिनेट लाग्छ । वरिपरिका हिमाल, पठार र कन्दरा आँखामा सजाउँदै ठिनी पुगिन्छ ।

गाउँको सिरानमा पुग्दा लाग्छ, नीलगिरि आँखै अघि उभिएजस्तो । तलपट्टि छ शान्त र मनमोहक ठिनी गाउँ । जसले पर्यटक लोभ्याउँछ अनि भुलाउँछ । घरपझोङ गाउँपालिका–५ स्थित ठिनीको पर्यटन प्रवद्र्धनमा गाउँले कस्सिएका छन् ।

ठिनीसहित नजिकका सम्पदा संरक्षणको काम भइरहेको छ । उक्त गाउँलाई केन्द्रमा राखेर आसपासको पर्यटन विकासमा स्थानीयवासी जुटेका छन् । नजिकमा ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछम तेरेङ्गा गुम्बालगायतका पर्यटकीय गन्तव्य छन् ।

त्यहाँ थकाली समुदायको संस्कृति र इतिहास झल्कने सङ्ग्रहालय छ । थकाली सामुदायिक घरवास (होमस्टे) अर्को आकर्षण हो । जम्मा १२ घरमा घरवास सुविधा छ । “पाहुनालाई थकाली खाना खुवाउँछौँ”, घरवास सञ्चालक समितिका सचिव जुमा थकालीले भन्नुभयो ।

फापरको ढिँडो, रोटी, कालो दाल, आलु घरवासका मुख्य परिकार हुन् । पर्यटकीय याममा ठिनी घुम्ने पर्यटकको सङ्ख्या बढ्दो छ । कुनै दिन राख्ने ठाउँ नभएर पाहुना फर्काउनु परेको अनुभव पनि सञ्चालक थकालीसँग छ । घरवासमा स्थानीय कला, संस्कृति पनि देखाइन्छ । एकै दिन १०० भन्दा बढी पाहुना राख्ने क्षमता घरवासमा छ ।

विसं २०७४ वैशाखदेखि ठिनीमा घरवास कार्यक्रम शुरु भएको हो । यो वर्ष गण्डकी प्रदेश सरकारले घरवासलाई उपलब्ध गराएको बजेटबाट प्रवेशद्वार बन्दैछ । गाउँपालिकाले छुट्टाएको रु तीन लाख बजेट अवलोकन भ्रमण र प्रचारप्रसारमा खर्च भएको छ ।

ठिनीको सामुदायिक विकास र पर्यटन प्रवद्र्धनमा स्थानीय जनमुक्ति युवा क्लब पनि सक्रिय छ । “पर्यटन विकासमा सबैसँग मिलेर काम गरेका छौँ”, क्लबका सचिव नीरज थकालीले भन्नुभयो, “पर्यटनमैत्री पूर्वाधार निर्माणमा हाम्रो जोड छ ।” नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले पनि घरवास प्रवद्र्धनमा सघाएको छ ।

सडक मार्गको स्तरीकरणदेखि ठिनीमा अन्य पूर्वाधार विकासको खाँचो छ । थकाली संस्कृतिको संरक्षण र उत्थानमा स्थानीयवासी उत्तिकै सचेत र सक्रिय छन् । ठिनी थकाली जातिको उद्गमस्थल हो । ठिनीमा प्रचलित परम्परागत याक, लोक र ढोङ्ग्री नाचलाई जोगाएर राखिएको छ । पर्यटक आउँदा मौलिक नाच देखाइन्छ ।

थकालीले मुख्य पर्वका रुपमा फालोलाई मान्छन् । ल्होसारलगायतका चाड पनि ठिनीमा मनाइन्छ । तारो हान्ने खेल (आर्चरी) ठिनीमा बढी खेलिन्छ । दुई हजार ८६२ मिटर उचाइमा पर्ने ठिनीबाट आधा घण्टामा ढुम्बा ताल पुगिन्छ । जुन ताल मुस्ताङको आकर्षक गन्तव्यस्थलमा पर्छ ।

घरपझोङ किल्ला, कुछप तेरेङ्गा गुम्बा र हिउँ चितुवा गुफा उक्त गाउँबाट नजिकै पर्छन् । त्यहाँबाट एक दिनको पदयात्रामा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुगिन्छ । दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिन्छ ।

“ठिनी पुग्दा नजिकका अन्य सम्पदा र पर्यटकीयस्थल घुम्न सकिन्छ”, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले भन्नुभयो, “ठिनीको आफ्नै ऐतिहासिक महत्व छ ।” घरपझोङ किल्ला संरक्षणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम अघि बढेको उहाँको भनाइ छ ।

सरकारले घरपझोङ किल्ला संरक्षण र विकासका लागि रु ४० लाख बजेट छुट्टाएको छ । प्रदेश सरकारको बजेटबाट ठिनी जोड्ने सडक कालोपत्रेको योजना पनि शुरु हुँदैछ । घरपझोङको अर्थ सबैले मन पराएको गाउँ भन्ने बुझिन्छ । किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउँथे ।

किल्लामा घरका भग्नावशेष अझै छन् । सोही किल्लाको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । किल्ला भएको ठाउँमा पहिले मानव बस्ती थियो । डाँडामा रहेको उक्त बस्ती सरेर थाक पाँच गाउँको रुपमा स्याङ, ठिनी, मार्फा, छैरो र चिमाङ बनेको बताइन्छ ।

ठिनीबाट १० मिनेटमै पुगिने हिउँ चितुवा गुफाले पनि पर्यटक आकर्षित गर्ने गरेको छ । गुफामा ध्यान कक्ष बनाउने गाउँलेको योजना छ । गुफामाथिको नमखुलेकतिर हिउँ चितुवा डुल्ने गरेको स्थानीयवासी बताउँछन् ।

कुछम तेरेङ्गा गुम्बा बौद्ध धर्म प्रचारक गुरु रिम्पोचे (पद्यसम्भव)का पाँच प्रतिनिधि रत्न भएको गुम्बाका रुपमा परिचित छ । गुम्बामा गुरु रिम्पोचेका दोचा, कपडालगायका सामग्री सुरक्षित छन् । आठौँ शताब्दीतिर हिमाली क्षेत्रमा बौद्ध धर्मको प्रचार गुरु पद्यसम्भवले गरेका थिए ।

गाउँपालिकाले ढुम्बा ताल सौन्दर्यीकरण योजना अघि सारेको छ । तालको पानीलाई बौद्धमार्गीले भगवान् गौतमबुद्धलाई चढाउने पवित्र जलका रुपमा लिन्छन् । अन्नपूर्ण पदमार्गको वैकल्पिक मार्गमा पर्ने ठिनी गाउँलाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको छ ।

म्याग्दी सदरमुकाम बेनीबाट छ घण्टा बसको यात्रापछि जोमसोम पुगिन्छ । पोखरादेखि १८ मिनेटको हवाई उडानमा जोमसोम पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal