देखासिकीमा हिमाल चढ्न खोज्नु मूर्खता होः मिङ्माग्याबु 

चिप्लेढुङ्गा, २० जेठ : उनन्सत्तरी वर्षअघि सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो । फ्रान्सेली मौरिस हार्जोकको टोलीले आठ हजार मिटरभन्दा अग्लो हिमाल चढेका थियो । त्यसमा अन्नपूर्ण (८,०९१मी )पहिले चढिएको हिमाल हो । यही दिनको सन्दर्भ पारेर ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल टान र नेपाल पर्वतारोहण सङ्घ(एनएमए) अन्नपूर्ण शाखाको संयुक्त आयोजनामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ । सोही अवसरमा हिमाल आरोही मिङ्माग्याबु शेर्पालाई रु ११ हजारसहित सम्मान गरियो ।

आरोही शेर्पाले सन् २०१० मा पहिलो पल्ट सगरमाथा आरोहण गर्नुभएको थियो । विश्वमा आठ हजारभन्दा माथिका १४ हिमाल छन् । त्यसमध्ये नेपालमा मात्रै आठ छन् । आरोही शेर्पाले आठ हजार मिटर अग्ला नौ हिमालको सफल आरोहण गरिसक्नुभएको छ । ताप्लेजुङका शेर्पाले शुरुमा सन् २०१० मा हिमाल आरोहीको सहयोगीका रुपमा सगरमाथा आरोहणमा जुट्नु भएको थियो । त्यसपछि आरोहणको व्यावसायिक तालीम लिनुभयो र सगरमाथामा पुग्नुभयो ।

जीवनको पहिलो खुशी सगरमाथा पुगेपछि पाइएको उहाँ बताउनुहुन्छ । शेर्पाले नेपालका सगरमाथा, अन्नपूर्ण, चोयु, कञ्जनजङ्घा, मनास्लु, धौलागिरि, ल्होत्से र मकालु तथा पाकिस्तानको केटु हिमालसफल आरोहण गर्नुभएको छ । उहाँले आठ पटकको प्रयासमा छ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ दुई पटक प्राविधिक र वातावरणीय कारणले असफल हुनुभयो ।

हाल शेर्पाले प्रोजेक्ट पोसिवल भन्ने अभियानअन्तर्गत सा महिनाभित्र विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहणको तयारी गर्नुभएको छ । सात महादेशमा सात उच्च हिमशृङ्खला पर्नेमा शेर्पाले तीन वटा आरोहण गरिसक्नुभएको छ जसमा रुसको माउन्ट एल्बस, अर्जेन्टिनाको माउण्ट अकोन्कागाउ र नेपालको सगरमाथा छन् । बाँकी चार उच्च हिमशृङ्खला पनि छिट्टै चढ्ने उहाँ बताउनुहुन्छ । एक सयभन्दा बढी उद्धारमा सहभागी शेर्पाले हालै मात्र एशियन शेर्पा अवार्ड २०१९ प्राप्त गर्नुभएको छ ।

हिमाल आरोहीका शव कुचेर हिमाल उक्लिरहनु पर्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै भन्नुहुन्छ । “पछिल्लो समय हिमाल चढ्ने कुरालाई देखासिकी, इगोका रुपमा लिइएको छ, अन्डरइस्टिमेट गरिएको छ, यो राम्रो होइन । हिमाल चढ्नु एकदम सजिलो कामजस्तो ठानिनु गलत हो । धेरै गाह्रो हुन्छ । इच्छा शक्ति, रक्तशक्ति, तालीम धेरै जरुरी हुन्छ । देखासिकीमा हिमाल चढ्न खोज्नु मूर्खता हो, यसले हिमालको गरिमालाई घटाउँदै लैजान्छ र जोखिम निम्त्याउँछ । ”

आरोहीको शव कुल्चेर हिमाल चढ्दा मनभरि अनेक प्रश्न खेल्ने उहाँ बताउनुुहुन्छ । “हिमाल चढ्ने अधिकार सबैको छ तर उसको शारीरिक अवस्था कस्तो छ, तालीम लिएको छ कि छैन, अक्सिजन ग्रहणको क्षमता ब्लडसँग जोडिन्छ, त्यो पनि हेर्नुपर्दछ, सबै हेरेर मात्र अनुमति दियो भने राम्रो हुन्छ । हाम्रो देशको नीति र संयन्त्र फितलो छ । जसले जे पनि गर्छ । सगरमाथाको चुचुरोमा अवाञ्छित गतिविधि गरेका कुरा बाहिर आउँछन् । नेपालीको आस्था र धरोहर सगरमाथालाई बदनाम गराउनेहरु सल्बलाइरहेका छन् ।”

कीर्तिमानी आरोही शेर्पाले हिमाल आरोहणलाई कुनै रहर मनोरञ्जनसँग नजोडी नेपालको पर्यटन पर्वतारोहणलाई विश्वमा चिनाउने काम गरेकाले उहाँलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताउनुभयो । अन्नपूर्ण हिमाल आरोहणपछि नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यको रुपमा चिनिन पुगेको भुजेलको भनाइ छ । सफल आरोही हार्जोकले लेखेको पुस्तक ‘अन्नपूर्णाज’ कुनै समय निकै बिक्री भएको पुस्तकमा पर्छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, मादि गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, पर्यटन व्यवसायि, पत्रकार र स्थानीयवासीको सहभागितामा मादीगाउँपालिका वडा नं ३ स्थित याङ्जाकोटमा घरबास कार्यक्रमसम्पन्न गरिएको थियो ।

याङजाकोटमा अन्नपूर्ण आरोहण दिवस

आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्णको ६९औँ आरोहण दिवस आज पर्यटकीय गाउँ याङजाकोटमा विविध कार्यक्रममा साथ मनाइएको छ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सो स्थानमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ एवम् नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाद्वारा ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

विश्वका आठ हजारभन्दा अग्ला हिमचुचुरामध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ वटा हिमाल नेपालमा रहेका छन् भने सन् १९५० जुन ३ तारिख अर्थात् आजकै दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको थियो । गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले एक समारोहबीच कार्यक्रम उद्घाटन गर्दै प्रकृतिका वरदान सम्पदाको भरपुर उपयोग गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने आजको आवश्यकता भएकामा जोड दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आवश्यक सडक, खानेपानीलगायत आवश्यक भौतिक संरचना निर्माणमा जोड दिँदै आएको उल्लेख गर्दै घरवास कार्यक्रमका माध्यमबाट समाज सङ्गठित हुनाका साथै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले ओझेलमा परेका महत्वपूर्ण एवम् रमणीय पर्यटकीय गन्तव्यको उजागर गर्ने लक्ष्यका साथ अन्नपूर्ण हिमाल आरोहण दिवससँग जोड्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा सगरमाथा ६ पटकसहित अन्नपूर्ण, मनासलु, कञ्चनजङ्घा, चोयो, माउण्ट केटुलगायतका हिमशृङ्खला सफलतापूर्वक आरोहण गर्नुहुने आरोही मिङमा ग्यावु शेर्पालाई रु ११ हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सोही समारोहमा टानका अध्यक्ष भुजेलले यातायात सेवा नपुगेका स्थानका बासिन्दालाई सहयोग पु¥याउने उद्देश्यका साथ एक थान स्टेचर गाउँपालिकाका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, अन्नपूर्ण शाखाका अध्यक्ष कृष्णप्रसाद काफ्ले, पत्रकार जमुना वर्षा शर्मा, कार्यक्रम संयोजक धर्मराज पन्थी लगायतले पर्यटन प्रवद्र्धनमा सबै क्षेत्रको साझेदारी आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.