कामीरिताको नयाँ कीर्तिमान, २४औँ पटक सगरमाथा आरोहण

काठमाडौँ, ७ जेठ : आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गर्नुभएको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गर्नुभएको थियो । उहाँ सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.