‘एक्सपेरियन्स नेपाल क्याम्पियन’ शुरु 

काठमाडौँ, ३ जेठ : विश्वका विभिन्न राष्ट्रबाट नेपालमा पर्यटक भित्र्याउने प्रयासस्वरूप ‘एक्सपेरियन्स नेपाल’ नाराका साथ विश्वव्यापी अभियान (क्याम्पियन) शुरु गरिएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भमा प्रभावकारी प्रर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकी एक्सप्रेससँग सहकार्य गर्दै विश्वव्यापी रूपमा अभियान शुरु गरेको हो ।

अभियानको बिहीबार साँझ उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल भ्रमण वर्ष अभियानको सन्दर्भमा एक्सपेरियन्स नेपाल अभियानले बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल तीव्र आर्थिक विकासको दिशामा अघि बढेको र त्यसका लागि पूर्वाधार विकासका साथै विकास साझेदार संस्थाको सहकार्यलाई प्रभावकारी बनाउने सन्दर्भमा अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन प्रवर्द्धनको अभियान सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले हालको अवस्थामा २५ लाख विदेशी पर्यटक धान्ने क्षमता रहेको उल्लेख गर्दै आगामी १० वर्षमा ५० लाख पर्यटकलाई स्वागत गर्न कुनै समस्या नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आगामी १० वर्षमा ५० लाख विदेशी पर्यटक भित्र्याउने योजनामा छौँ, सोहीअनुरुप पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निजी व्यवसायीको भनाइमा अहिले नै २५ लाख पर्यटक धान्ने क्षमता छ, थप दर्जन पाँचतारे होटल सञ्चालनको तयारीमा छन्, सडक यातायात स्तरोन्नति तथा गन्तव्य प्रवर्द्धन साथै सेवा स्तरीकरणको काम पनि अघि बढाइनेछ ।”

उहाँले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने तयारी भइरहेको तथा अन्य क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावकारीरूपमा अघि बढेको सन्दर्भमा सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल पर्यटनका लागि आकर्षक र सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न जरुरी भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अभियानले विश्वबजारमा नेपालको पर्यटन प्रवर्द्धन र यसको महत्वलाई दर्शाउन सहयोग पुग्ने बताउनुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल गन्तव्य प्रवर्द्धनका लागि प्रसिद्ध अमेरिकन एक्सपेरियन्ससँग साझेदारी गरिएको जानकारी दिनुभयो ।

अमेरिकन एक्सपेरियन्सका उपाध्यक्ष दिव्या सिंहले प्राकृतिक सुन्दरता, भौगोलिक, जैविक विविधता र वन्यजन्तुको बासस्थान रहेको मुलुक नेपाल भ्रमण गर्ने जोकोही विदेशीको आकर्षण गन्तव्य हो भन्दै विभिन्न मुलुकका पर्यटकलाई आकर्षण गर्न अभियान सार्थक हुने धारणा राख्नुभयो ।

अमेरिकी एक्सप्रेस कार्ड सेवाप्रदायक कम्पनी हो । यो संस्थाले ३२ मुलुकका मानिसलाई नेपाल भ्रमणमा आउन आग्रह गर्ने बताइएको छ । पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरी मुलुकको आर्थिक विकासमा सहयोग गर्न लागिएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले बताउनुभयो । बैंकले आफ्ना कार्ड होल्डरलाई नेपाल भ्रमणमा आउन विभिन्न माध्यममार्फत आग्रह गर्नेछ । बोर्डले यसअघि सन् २०१६ र २०१७ मा पहिलो चरणको अभियान चलाएको थियो ।

प्रमुख कार्यकारी अधिकृत जोशीका अनुसार यस पटकको अभियान एक वर्ष (२२ जुन २०२० सम्म) सञ्चालन हुनेछ । अमेरिकन एक्सपेरियन्स विश्वका उच्च वर्गका सदस्यको समूह हो । धेरै खर्च गर्ने, कर्पोरेट आइकनले यस्तो कार्ड बोक्ने गर्छन् । त्यो सेगमेन्टमा नेपालको पर्यटकीय आकर्षणका सन्देश जाने व्यवस्था गरिएको छ । त्यस्ता सन्देश इमेल, एसएमएस, वेब ब्यानर, सामाजिक सञ्जाल ट्वीटर फेसबुक आदिबाट नेपालको ‘भिजीबिलिटी’ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.