किराँत धर्मावलम्बीको मोक्षस्थल लब्रेकुटी र सिलौटी पर्यटकीय दृष्टिले ओझेलमा

रवीन्द्र काफ्ले । फिदिम, १ जेठ : किराँत धर्मावलम्बीहरुले मोक्षस्थल ठान्ने लब्रेकुटी र सिलौटी पर्यटकीय दृष्टिले ओझेलमा छन् । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ किराँत धर्मावलम्बीहरुले शक्तिपीठको रुपमा पूजाअर्चना गर्ने पाँचथरको फिदिम नगरपालिका वडा नं ५ मा अवस्थित यी स्थानमा भौतिक पूर्वाधारको विकास भएको छैन ।

किराँत धर्मगुरु फाल्गुनन्दले फक्ताङलुङ (कञ्चनजङ्घा हिमाल) को दर्शनबाट किराँतीहरुले मोक्ष प्राप्त गर्न सक्ने सन्देश समुदायमा फैलाउनु भएको थियो । फक्ताङलुङ दर्शन गर्न नसक्नेहरुले लब्रेकुटीको दर्शन गरे मोक्ष प्राप्त हुने उहाँको भनाइका आधारमा यो स्थानलाई किराँत धर्मावलम्बीहरुले पवित्र धार्मिक स्थल मान्छन् ।

यी स्थानलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन पूर्वाधार विकास र प्रचारप्रसारमा सरकारले ध्यान नदिएको किराँत साङ्सेन माङहिम लब्रेकुटीका पूर्वअध्यक्ष चन्द्रराज आङ्देम्बेको गुनासो छ । मेची राजमार्ग आसपासमा रहेका लब्रेकुटी र सिलौटीलाई विश्वसामु चिनाउने अवसर रहे पनि सरकारी बेवास्ताका कारण यी स्थान ओझेलमा परेको उहाँको भनाइ छ ।

फिदिम नगरपालिका–५ चोकमागूमा अवस्थित लब्रेकुटी र सिलौटी क्षेत्र महागुरु फाल्गुनन्द र यहाँ प्रतिपादित ‘सत्य धर्म मुचुल्का’का कारण किराँत समुदायका लागि विशिष्ट छन् । लब्रेकुटीको संरक्षणमा सक्रिय किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटीका अध्यक्ष ध्रुवकुमार तुम्बापोका अनुसार फाल्गुनन्दले लब्रेकुटीमा निरन्तर १४ वर्षसम्म साधना गर्नुभएको थियो । उहाँले प्रयोग गर्नुभएका सामग्रीहरुसमेत यहाँ सुरक्षित छन् । उहाँले लब्रेकुटीबाट समाज सुधारको सन्देश फैलाउनुभएको थियो ।

फाल्गुनन्दले विसं १९८८ साल वैशाख २४ गते तत्कालीन लिम्बुवान क्षेत्रका शासकहरुलाई भेला गराई ‘सत्य धर्म मुचुल्का’को घोषणा गराउनुभएको थियो । उक्त घोषणाले किराँत समुदायको धार्मिक, सांस्कृतिक, सामाजिक र जीवन व्यवहारमा परिवर्तन ल्याएको थियो । विवाह, धार्मिक कार्य जस्ता क्रियाकलापहरुलाई समयानुकूल बनाउने, मद्यपान तथा मासुको सेवन घटाउने, विवादको शान्तिपूर्ण समाधान खोज्ने उहाँको मार्गनिर्देशन थियो ।
भाषाविद् हरिचन्द्र लावती फाल्गुनन्द अर्धईश्वरीय चेत प्राप्ति व्यक्ति भएको इतिहास अध्ययनबाट पत्ता लाग्ने बताउनुहुन्छ । “फाल्गुनन्दमा भएको अर्धईश्वरीय चेतकै कारण उहाँलाई माङ (भगवान्)को अवतारको रुपमा पूजा गर्न थालिएको हो,” लावतीले भन्नुभयो – “उहाँलाई भगवान्को अवतार मानिएकै कारण लब्रेकुटी र सिलौटी किराँतका मोक्ष स्थलको रुपमा स्थापित भएका हुन् ।” फाल्गुनन्दको हालको फाल्गुनन्द गाउँपालिका वडा नं २ इम्बुङमा देहावसान भएको थियो । उहाँको समाधिस्थल सिलौटी डाँडामा रहेको छ । उहाँको समाधिस्थल सिलौटीमा अनुयायी तथा धर्मअनुरागीहरुले दैनिक जसो पूजाअर्चना गर्ने गर्दछन् ।

फिदिम नगरपालिका वडा नं ५ का वडाध्यक्ष लीलाराज तुम्बापो स्थानीय तहको प्रयासले यी स्थान विश्वसामु चिन्न सक्ने गरी विकास र प्रचार हुन नसक्ने बताउनुहुन्छ । “यी स्थानको विकास र प्रचारमा हामीले प्राप्त बजेटको हिस्सा खर्च गरिरहेकै छौँ,” तुम्बापोले भन्नुभयो – “यी स्थानलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन सङ्घीय र प्रदेश सरकारबाट ठूलो लगानी गरिनु आवश्यक छ ।” प्राकृतिक रुपमै सुन्दर यी स्थानमा सडक, भ्यू टावर, विश्रामस्थल तथा आवास, खानेपानी, शौचालय जस्ता पूर्वाधार आवश्यक रहेको उहाँको भनाइ छ । पूर्वाधारको विकाससँगै प्रचारमा जोड दिई पर्यटक आकर्षण गर्नेतर्फ तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको तुम्बापोको भनाइ छ ।

लब्रेकुटी सिलौटी पर्यटन विकास समितिका सचिव सुबास तुम्बापो वर्षेनी सानो आकारमा बजेट प्राप्त हुँदा ठोस काम गर्न नसकिएको बताउनुहुन्छ । “नेपालका विभिन्न जिल्लाहरुसहित पूर्वोत्तर भारत, भुटान, माल्द्विम्भ लगायत मुलुकबाट किराँत धर्मावलम्बीहरु आउनुहुन्छ,” तुम्बापोले भन्नुभयो – “तर, पूर्वाधारको अभावमा उहाँहरुले यहाँबाट सकारात्मक सन्देश लैजान सक्नुभएको छैन ।” विगत एक दशकमा सरकारी निकायहरुबाट रु ६० लाख बजेट यी स्थानका लागि छुट्याइएको छ । उक्त बजेट सडक निर्माण तथा स्तरोन्नति, केही पूर्वाधार निर्माण तथा व्यवस्थापनमै अपुग भएको तुम्बापोको भनाइ छ । धार्मिक कार्यहरु भक्तजनको भेटीबाट चलाउनुपरेको उहाँको भनाइ छ ।

तुम्बापोले भन्नुभयो – “मुन्धुम निशानहिम (मुन्धुम पढाइ हुने विद्यालय) लाई सरकारी स्तरबाट व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।” यस्तै लिम्बू समुदायसँग सम्बन्धित वस्तुहरुको सङ्ग्रहालय निर्माण, घरबास निर्माण तथा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लब्रेकुटी र सिलौटीको विकास र धार्मिक पर्यटन प्रवद्र्धनका लागि छुट्टै सरकारी निकाय स्थापना आवश्यक रहेको औँल्याउनुहुन्छ । “विगतदेखि प्रत्येक वर्ष यी स्थानमा सानो वा ठूलो आकारमा बजेट विनियोजन भइरहेको छ तर, यहाँको विकासले गति लिन सकेको छैन,” भण्डारीले भन्नुभयो – “यी स्थानको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर छुट्टै निकाय स्थापनामा हाम्रो पार्टीले जोड दिइरहेको छ ।” उहाँका अनुसार जिल्ला परिषद्मार्फत प्रदेश सरकारसँग उक्त प्रस्ताव अघि बढाइने छ ।

फाल्गुनन्दका विषयमा अध्ययन गर्दै आउनुभएका रमेश तुम्बापो फाल्गुनन्दबारे विस्तृत अध्ययन र प्रचारका लागि लब्रेकुटी र सिलौटी मात्रै उपयुक्त स्थान रहेको बताउनुहुन्छ । “फाल्गुनन्दबारे पर्याप्त खोज र अनुसन्धान गर्न सकिएको छैन, त्यस्ता खोज र अनुसन्धान लब्रेकुटी, सिलौटी लगायत क्षेत्रमा मात्रै सम्भव छ,” तुम्बापोले भन्नुभयो – “फाल्गुनन्दबारे थप प्रकाश पार्न सकियो भने पाँचथरको पर्यटन विकासमा टेवा पुग्छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

लब्रेकुटी र सिलौटीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकिएको छ । प्रतिवेदनमा लब्रेकुटी र सिलौटी क्षेत्रको ३४७ रोपनी क्षेत्रलाई व्यवस्थित गरी विभिन्न पूर्वाधार निर्माण गर्ने उल्लेख छ । प्रतिवेदनअनुसार उक्त क्षेत्रको धार्मिक पीठलाई प्राकृतिक रुपमै संरक्षण गर्दै विभिन्न संरचना निर्माण गरिने छ । यहाँ २०० फिट अग्लो फाल्गुनन्दको प्रतिमा बनाउने, उहाँसँग सम्बन्धीत तथा किराँत धर्मावलम्बीका परम्परागत सामग्रीहरु राखेर सङ्ग्रहालय बनाउने, मुन्धुम निशानहिमलाई व्यवस्थित गर्ने, व्यवस्थित पार्क तथा भ्यू टावर बनाउने योजना अघि सारिएको छ । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ उक्त विस्तृत परियोजना प्रतिवेदनका आधारमा यस क्षेत्रको विकासमा लाग्ने बताउनुहुन्छ ।

गत वर्ष सरकारले १०० नयाँ पर्यटकीय क्षेत्र घोषणा गर्दा यी स्थानलाई समेत समेट्दै ‘फाल्गुनन्द सर्किट’ को अवधारणा अघि सारेको हो । उक्त घोषणाले यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गर्नुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले लब्रेकुटी र सिलौटीलाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न छुट्टै निकाय निर्माणको तयारी गरिरहेको बताउनुभयो । “आगामी आर्थिक वर्षदेखि लब्रेकुटी र सिलौटी क्षेत्रको विकासका लागि बजेट विनियोजन हुन्छ,” उहाँले भन्नुभयो – “लब्रेकुटी र सिलौटी क्षेत्रको विकास सबै दलको साझा चुनावी एजेण्डा हो । उक्त एजेण्डा कार्यान्वयन गर्न प्रदेश सरकार दृढ छ ।”

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal