सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित

सुन्दरहरैँचा, मोरङ, २ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ ।

आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको झण्डा तथा नक्सालाई चुचुरोमा फहराएर देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचा नगरपालिकाले उहाँलाई सम्मान गरेको हो ।

सुन्दरहरैँचा नगरपालिकाद्वारा आयोजित समारोहमा नगरप्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रबाट उहाँलाई सम्मान गर्नुभएको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका¬–१० स्थित विराटचौककी २९ वर्षीया रोशा बस्नेत राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार हुनुहुन्छ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका पाँच सदस्यमध्ये उनीसहित चार जनाले यसै वर्षको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सो अवसरमा नगरप्रमुख ढकालले प्रदेश नं १ कै गौरव तथा गरिमाका रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफूलगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको बताउँदै यो कार्यले नगरको गरिमा र पहिचान पनि थप उच्च भएको छ भन्नुभयो ।

यसैगरी नगर कार्यपालिका सदस्य भक्तकिरण राईले बस्नेत आरोहणमा जानुअघि ‘गर्विलो पहाड चढ्दैछौँ’ बोलको गीत गाएर बिदाइ गरेको स्मरण गर्दै आफूले गाएको गीतलाई सार्थक बनाएकामा हर्ष व्यतm गर्नुभयो ।

सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै महिला सशक्तीकरण र युवा जागरणको क्षेत्रमा समेत कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सगरमाथाबाट ल्याएको एक सानो पत्थर र नगरपालिकाबाट आरोहणमा जानुअघि बस्नेतलाई दिइएको झण्डा र नगरपालिकाको नक्सा चुचुरोमा फहराएपश्चात् कोसेलीस्वरुप उहाँले नगरप्रमुखलाई हस्तान्तरण पनि गर्नुभयो ।

पत्रकार महासङ्घको ब्यानरमा आरोहण गरेका पत्रकार महिलाको आरोहणको मूल नारा ‘समानताको लागि बुलन्द आवाज’ भन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.