देशभरका साइकल यात्री कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा

कञ्चनपुर, २५ फागुन : पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशभरका साइकल यात्री कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा संलग्न भएका छन् । युथ स्पोर्टस क्लब धनगढीको आयोजनामा शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम साइकल यात्रा २०७५ अन्तर्गत चर्चित विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा यात्री कञ्चनपुर आइपुग्नुभएको हो ।

यात्रुले नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनका लागि कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको भ्रमणमा लागेका छन् । यात्रामा संलग्न यात्रीले बेदकोट नगरपालिकाको पर्यटकीय क्षेत्र लिङ्गाको भ्रमण गरेका छन् ।

शनिबार यात्रीले भीमदत्त नगरपालिकाको जैविक मार्ग, बिष्णुधाम मन्दिर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको झोलुङ्गे पुललगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको क्लबका सदस्य जेपी चन्दले बताउनुभयो । सुन्दर सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिनका लागि यहाँ आइपुगेको विश्व साइकल यात्री शाहले बताउनुभयो ।

साइकल यात्राको माध्यमले पनि आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ उहाँले भन्नुभयो, “यहाँका सुन्दर पर्यटकीय क्षेत्रबारे अन्य क्षेत्रमा समेत जानकारी दिन्छौँ ।” पहिलोपटक देशभरका साइकल यात्रीलाई भेला गराएर साइकल यात्रा कार्यक्रम आयोजना गरिएको भने यहाँ पहिलोपटक हो ।

साइकल यात्रीले बिहीबार कैलालीको शिवपुरीधाम, जोखरताल, फिस रिसोर्टलगायत क्षेत्रको भ्रमण गरेका थिए । साइकल यात्रामा देशभरका ४० बढी साइकल यात्रीको सहभागिता रहेको छ । भीमदत्त नगरपालिका क्षेत्रका पर्यटकीय क्षेत्रको भ्रमणपछि यात्राको भीमदत्तनगरमा समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.