बर्दिया राष्ट्रिय निकुञ्ज बर्लिनमा पुरस्कृत
काठमाडौँ, २३ फागुन : पर्यटन प्रवद्र्धन एवम् संरक्षणमा योगदान गरेबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जर्मनीको बर्लिनमा पुरस्कृत भएको छ । विश्वकै ठूलो पर्यटन मेलाका रुपमा लिइने आइटिवीमा सय दिगो पर्यटन गन्तब्यमध्ये एशिया प्यासिफिक क्षेत्रबाट बर्दिया दिगो गन्तब्यका रुपमा पुरस्कृत भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
मेलाकै अवसरमा यही फागुन २२ मा आयोजित एक कार्यक्रमकाबीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्न र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्तरुपमा उक्त सम्मान प्रदान गरेको हो । डा अल्बर्ट सल्मान प्रमुख रहेको टिमको छनोट प्रक्रियामा विशेषत दिगो विकासमा काम गर्ने विभिन्न सङ्घ संस्थाको सहकार्य रहेको थियो । उक्त पुरस्कारसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दिगो पर्यटन विकासमा काम गर्ने संस्थाको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैँमा गौरवको विषय भएको बोर्डले जनाएको छ ।
नेपालले विशेषतः दिगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दियालगायतका क्षेत्रमा बाघको सङ्ख्यामा देखिएको दोहोरो वृद्धिका कारण नै बर्दियालाई यो सम्मान प्रदान गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मान ग्रहण गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटन र संरक्षणका हिसाबले विशिष्ट दिगो गन्तब्य भएको बताउनुभयो ।
