पोखरामा पत्रकार भेलाले पर्यटन व्यवसायी उत्साहित

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, ८ फागुन : नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन यही फागुन ९ र १० मा पोखरामा हुँदैछ । सोही मञ्चबाटै गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गर्ने कार्यक्रम छ ।

प्रदेश सरकारको समन्वयमा हुने सो अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले भ्रमण वर्ष घोषणा गर्नुहुनेछ ।

देशभरिका पत्रकारमाझ भ्रमण वर्ष घोषणाले सूचनाको प्रवाह एकैसाथ चारैतिर पुग्ने भएकाले पनि यो भेलाले पर्यटन व्यवसायीलाई निकै उत्साहित बनाएको बताउनु हुन्छ रेबान पोखराका अध्यक्ष भीमसेन भुजेल बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ, “यो साह्रै राम्रो अवसर हो, पोखराको सुन्दरता र यहाँको आतिथ्यतालाई देशभर चिनाउन तथा पोखराका नलेखिएका थुप्रै कुरा खोजेर लेखेर पर्यटन प्रवद्र्धन गर्न आग्रहसमेत गर्छु । ”

होटल एशोसिएशन अफ नेपाल (हान)पश्चिमाञ्चल अध्यक्ष विकल तुलाचन सरकारले आन्तरिक भ्रमण वर्षको घोषणाको तयारी गरिरहँदा देशभरिका पत्रकारको भेला पोखरामा हुनु निकै प्रशंंसनीय पक्ष रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो पर्यटकको अफ सिजन हो । यस बेला पत्रकारको भेलाले यहाँको पर्यटनलाई थप टेवा पु¥याउने छ । अर्को कुरा कतिले पोखराका बारेमा मात्रै सुन्नु भएको थियो होला, कति आउनु पनि भएको होला, सबैसबैले पोखराको सुन्दर दृश्यलाई आँखामा राखेर कलममा शब्द बोकेर जानुहुनेछ । लोकप्रिय सञ्चारमाध्यममा पोखरा अझै छाउने छ ।”

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया पनि पर्यटनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यो भेलाले पोखराको पर्यटनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

विशेष गरी माइस टुरिज्म (मिटिङ्ग, इन्सेन्टिभ, कन्फरेन्स, इभेन्ट) ले पर्यटनमा विशेष भूमिका खेल्छ । पत्रकारको यो भेलाले पनि माइस टुरिज्म प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने हामीले विश्वास लिएका छौँ ।

“जब पोखरालाई पत्रकारले हेर्नुहुन्छ, पढ्नुहुन्छ, अनि सशक्त माध्यमबाट समाचार, आलेख, विशेष रिपोर्टहरु प्रसारण गर्नु हुनेछ । यो पैसामा रुपान्तरण गर्न नसकिने लाभको रुपमा हामीले लिएका छौँ ”, थपलिया भन्नुहुन्छ ।

‘राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दुई दिन पोखरामा हुन लागेको केन्द्रीय साधारणसभा र विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यो अधिवेशनले सङ्घीय संरचनानुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै भेला ऐतिहासिक हुने र यसले यहाँको पर्यटनलाई पनि सँगसँंगै प्रवद्र्धन गर्ने सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.