पर्यटक भित्र्याउन गुम्बा/बिहार पुनःनिर्माणको माग
काठमाडौँ, २८ साउन : दुई वर्षपछि मनाइने पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउन भूकम्पले भत्किएका गुम्बा÷बिहारको पुनःनिर्माण छिटो गरी बौद्ध परिपथ बनाइनुपर्नेमा जोड दिइएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आयोजना गरेको गुम्बा/बिहार पुनःनिर्माणसम्बन्धी छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री धनबहादुर बुढाले गुम्बा/बिहार छिटो बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्रीत्रय दिलमान पाख्रिन, ईन्द्रबहादुर गुरुङ र परशुराम तामाङ, सांसद शान्ति पाख्रिनलगायतले गुम्बा÷बिहार पुनःनिर्माण गर्न ढिलाइ भएकामा आपत्ति जनाउनुभयो । आदिवासी जनजातिका चाडपर्वमा कटौती गरिएका बिदा पुनःस्थापना गरिनुपर्ने उहाँहरुको भनाई थियो । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङ र सदस्य दीपेन्द्र लामाले गुम्बा÷बिहारलाई समेत कर लगाउने गरी स्थानीय तहले गरेको निर्णय खारेजीको माग गर्नुभयो ।
कार्यक्रममा मनिराज गुरुङले गुम्बा÷बिहार पुनःनिर्माण, मोहन तामाङले बौद्ध परिपथ र पर्यटन विकास, अधिवक्ता रुद्रप्रसाद शर्माले गुम्बा/बिहारलाई कर लाग्ने वा नलाग्ने, खेन्पो पुण्यप्रसाद पराजुलीले हिन्दू र बौद्ध धर्मको सम्बन्ध विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरेको छ ।
पर्यटन वर्षलाई सफल बनाउन त्यसअघि नै भूकम्पले भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण सक्नुपर्ने कार्यक्रमका सहभागी वक्ताको माग थियो ।