बुद्धको अस्थिधातु रहेको रामग्राम स्तूपमा पर्यटक वृद्धि
मोहन पौडेल । परासी, १० माघ : भगवान् गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तूपमा सन् २०१८ मा १२ हजार ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या नेपाल र भारतबाहेक तेस्रो मुलुकका पर्यटकको मात्र हो ।
पछिल्लो समय रामग्राम स्तूपमा विदेशी पर्यटकको आगमन बढेको छ । विगत नौ वर्षको तुलनामा सन् २०१८ मा रामग्राममा सबैभन्दा बढी पर्यटक आएका छन् । सन् २०१७ मा सात हजार ४३६ विदेशी पर्यटकले स्तूपको अवलोकन गरेका थिए । लुम्बिनी विकास कोषका अनुसार सन् २०१६ पाँच हजार ७४, २०१५ मा चार हजार ३६२, २०१४ मा ६ हजार २७, २०१३ मा तीन हजार २३, २०१२ मा दुई हजार २१०, २०११ मा दुई हजार ६८६, २०१० मा एक हजार ६८० विदेशी पर्यटकले स्तूपको भ्रमण गरेका छन् ।
गत वर्षको तुलनामा अहिले पाँच हजारभन्दा बढी पर्यटक स्तूपको भ्रमणमा आएको रामग्राम स्तूपमा अवस्थित लुम्बिनी विकाष कोषको सम्पर्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सन् २०१८ को नोभेम्बर महीनामा सबैभन्दा बढी पर्यटकले स्तूपको भ्रमण गरेका छन् । नोभेम्बरमा दुई हजार ८५४ जना विदेशी पर्यटक आएका थिए । त्यसपछि मार्च महीनामा दुई हजार ३३४ र डिसेम्बर महीनामा दुई हजार १०३ ले स्तूपको अवलोकन गरेको कोषका कर्मचारी दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । सबैभन्दा कम जुलाई महीनामा ६२ ले अवलोकन गरेका छन् ।
रामग्राममा सबैभन्दा धेरै पर्यटक कोरिया, थाइल्याण्ड, कम्बोडिया, श्रीलङ्का, जापान लगायतका देशबाट आउने गरेका छन् । स्तूपमा नेपाल र भारतका गरी वार्षिक १५ हजारभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । स्तूपमा प्रत्येक दिन नै आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । उनीहरू सबै एकैछिन घुमेर फर्किने गरेका छन् । पर्यटकको सङ्ख्या बढ्दै गए पनि आवश्यक पूर्वाधार नहुँदा स्तूप क्षेत्रमा पर्यटकको बसाइ भने हुँदैन । यसले गर्दा स्थानीय व्यवसायीले फाइदा लिन सकेका छैनन् । पर्यटकहरू प्रायः भारतीय सवारी लिएर आउने गरेका छन् । ती पर्यटकहरू उही दिन आएर उही दिननै फर्किने गरेका छन् ।
स्तूपभित्र पर्याप्त भौतिक संरचनाहरू नहुनु, होटल, आवासको व्यवस्था नहुनु, सवारीको नियमित सञ्चालन नहुनु, ‘गाइड’ गर्ने व्यक्तिको अभाव जस्ता कारणले स्तूपमा आउने पर्यटक प्रार्थना गर्ने र एकै छिन घुमेर फर्किने गरेका छन् । रामग्रामको महत्व र प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकको सङ्ख्या बढेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता बताउनुहुन्छ । बुद्धको अस्थिधातु राखिएका विश्वका आठ स्तूपमध्ये उत्खनन नभई अस्थि सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ ।
बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ । मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ ।
राजगीर गाउँ पटना, कटिहार, तिलौराकोट (कपिलवस्तु) इलाहाबाद, भोपाल, गोरखपुर, कुशीनगर र रामग्राम (नवलपरासी) मा स्तूप निर्माण गरिएको थियो । रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृत्तान्तमा यसबारे वर्णन गरेका छन् । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक यस स्थलको संरक्षण र संवद्र्धनका लागि लुम्बिनी विकास कोषको समन्वयमा अहिले रामग्राम नगरपालिकाले गुरुयोजना निर्माण गरिरहेको छ । नगर प्रमुख गुप्ताले भन्नुभयो, “यसै आवमा स्तूप क्षेत्रमा पर्यटकलाई लक्षित गरी रु ५० लाखको लागतमा विश्राम गृह निर्माण हुँदैछ । उज्जैनी चोकदेखि स्तूपसम्म जाने बाटोलाई फराकिलो गरी ६० फिटको बनाइँदैछ ।”
स्तूप रहेको उज्जैनी गाउँलाई पनि नमूना बनाई घरबास (होम स्टे) सञ्चालन गरी पर्यटक आकर्षित गर्ने कार्यको पनि थालनी भइसकेको नगरपालिकाले जनाएको छ । नमूना गाउँ बनाउन रु १९ करोडको लागतमा ठेक्कामा दिइएको नगरपालिकाले जनाएको छ । रामग्राम स्तूप क्षेत्रमा लुम्बिनीकै झल्को दिने र लुम्बिनीकै हाराहारीमा पर्यटक भित्र्याउन ५० बिघा जग्गा अधिग्रहण गरी विभिन्न देशका धार्मिकस्थल निर्माणका लागि पनि लुम्बिनी विकास कोष र पर्यटन मन्त्रालयसँग छलफल भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।
कोषले रामग्रामलाई समेत समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना बनाए पनि रामग्राम क्षेत्रमा त्यसको कार्यान्वयन भएको छैन । स्तूप क्षेत्रमा अहिले कोषले रु एक करोडको लगानीमा ‘फुट ट्र्याक’ (पैदलमार्ग) बनाइरहेको छ । रामग्राम स्तूप, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उज्जैनी गाउँमा अवस्थित छ । यो सदरमुकाम परासीबाट तीन किमी दक्षिणमा पर्दछ ।
