उत्कृष्ट होम स्टे पुरस्कार पित्लेक देउरालीलाई
स्याङ्जा, १७ पुस : पर्यटन विकास समिति सिरुवारीले स्थापना गरेको उत्कृष्ट होम स्टे पुरस्कार यो बर्ष पित्लेक देउराली सामुदायिक होम स्टेले प्राप्त गरेको छ ।
वि.सं. २०५४ सालमा स्थापना तत्कालिन सांसद क्याप्टेन रुद्रमान गुरुङको सक्रीयतामा स्थापना भएको स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका १ मा पर्ने सिररुवारी नेपालको पहिलो होम स्टे हो । सिररुवारी अहिले होमस्टेको राजधानीको रुपमा समेत चिनिएको छ ।
उनै ग्रामिण पर्यटनका नायक क्या. रुद्रमान गुरुङको योगदानलाई चिरस्थायी बनाउन क्या. रुद्रमान गुरुङ उत्कृष्ट होम स्टे पुरस्कार धर्मोदय सभा, पर्यटन विकास समिति, बुद्ध आमा समूह र नव युवा क्लबको पहलमा स्थापना गरिएको हो ।
यस बर्षको उक्त पुरस्कार स्याङ्जा जिल्ला भित्रका होम स्टेहरु मध्ये उत्कृष्ट वालिङ नगरपालिका वडा नं. ५ मा रहेको पित्लेक देउराली सामुदायिक होम स्टेलाई प्रदान गरियो । २५ हजार नगद राशी र सम्मान पत्र सहित उक्त पुरस्कार २०७५ पौष १५ ल्होसारका दिन भब्य कार्यक्रमका वीच जिल्ला पयर्टन विकास समितिका पूर्व उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अन्नत कुमार श्रेष्ठले पित्लेक देउराली सामुदायिक होम स्टेका अध्यक्ष महेश गुरुङलाई प्रदान गर्नुभयो ।
नेपाल र भारतका समेत होम स्टेहरु यहीबाट होम स्टेको अवधारण सिकेर सुरुवात भएका हुन । नेपाल सरकारले होम स्टे संचालन निर्देशिका लागु गरे पश्चात देशैभरि नै होम स्टे घरबास कार्यक्रम लोकप्रिय भइरहेको छ । गण्डकी प्रदेशमा होम स्टे लाई ग्रामिण पर्यटनको मुख्य आयामका रुपमा हेरि बजेट तथा कार्यक्रम समेत तय गरिएको छ ।
आगामी बर्ष देखि रष्ट्रिय रुपमा प्रदान गरिने र पुरस्कारको राशीमा पनि बृद्धि हुने पर्यटन विकास समितिका संयोजक जुम गुरुङले जानकारी दिनु भएको छ ।
