रूपसे र अन्धगल्छी पर्यटकीय गन्तव्यको विकास गर्न गुरुयोजना तयार

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको अन्धगल्छी र रूपसे झरनालाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाको रु एक लाख ५० हजार सहयोगमा पर्यटकीय पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गरिएको हो ।

गुरुयोजनाअनुसार रूपसे र अन्धगल्छीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माणका लागि रु दुई करोड ६५ लाख बजेट आवश्यक पर्ने वडाध्यक्ष नरसिङ पुर्जा बताउनुहुन्छ । “गाउँपालिका, प्रदेश र संघीय सरकारका साथै प्रवासी नेपालीको लगानी भित्र्याएर गुरुयोजना कार्यान्वयन गर्ने लक्ष्य छ”, वडाध्यक्ष पुर्जाले भन्नुभयो । रूपसे र अन्धगल्छी बीचमा रहेको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिएलगत्तै गुरुयोजना कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।

करीब ३०० मिटर उचाइबाट तीन खण्डमा बग्ने रूपसे झरना र अन्धगल्छीमा यसअघि पदमार्ग र भ्यूटावर निर्माण गरिएको थियो । गुरुयोजनामा अहिले निर्माण भएका पदमार्गको स्तरोन्नति र विस्तार, भ्यूटावर थप, अन्धगल्छी अवलोकनका लागि पुल, रूपसे झरनाको हरेक खण्डमा बिरुवा रोपण र प्रत्येक खण्डलाई तालको स्वरूप दिन प्रस्ताव गरिएको छ ।

अन्धगल्छी र झरनाको बीचमा वनभोजस्थल, व्यवस्थित पार्किङस्थल, रूपसे झरनाको माथिल्लो भ्यूटावरमा पुग्न सडक विस्तार र दुवैतर्फ स्वागतद्वार निर्माणको योजना रहेको इञ्जिनियर विष्णु रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.