चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा, धवनले बनाए १०१ रन
काठमाडौं, २ कात्तिक : दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।
चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए ।
यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे ।
रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।
चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।
दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो ।
चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गरेका छन् । उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । राबडाले २७ खेलमा ५० विकेट पुरा गरेका हुन् ।
जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो ।
दिल्लीले चेन्नईलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो । सिजनको पहिलो भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो ।
चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ ।
रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित निकालेको छ ।
दुबईमा शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै बैंगलोरले छैटौं जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बैंगलोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । बैंगलोरको जितमा निर्णायक इनिङ्स खेलेका उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे ।
यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । गुर्किरात सिंह १९ रनमा अविजित रहदा आरोन फिन्चले १४ रन बनाए ।
राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
राजस्थानको लागि कप्तान स्टिभ स्मिथले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ४१ रन जोड्दा जोस बट्लरले २४ रन बनाए । बेन स्टोक्सले १५ रनमा आउट भए ।
बैंगलोरका क्रिस मोरिसले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।
जितसँगै बैंगलोरले ९ खेलमा १२ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
पराजित राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ ।
पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको यो छैटौं हार हो ।
