धर्मश्री प्रतियोगिता हुने

काठमाडौँ, १२ असोज : नेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा ‘धर्मश्री’ खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

यही असोज १९ र २० हुने उक्त प्रतियोगितामा करीब ४०० खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण प्रधानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभयो । शहीद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतिमा विसं २०४२ बाट शुरु गरिएको उक्त प्रतियोगिताको यो १५ औँ संस्करण हो ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहमा पहिलो स्थान हात पार्ने खेलाडीले ओभरअल राउण्डमा धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

धर्मश्री विजेताले रु पाँच लाखसहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् । यस्तै प्रतियोगितामा दोस्रो हुनेले रु दुई लाख, तेस्रोले रु एक लाख, चौथोले रु ९० हजार, पाँचौँले रु ८० हजार, छैटौँले रु ७५ हजार र सातौँ स्थान हात पार्ने खेलाडीले रु ६० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः रु ३० हजार र रु २० हजार पाउने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीको हौसला अभिवृद्धि गर्न भारतका चर्चित दुई पटकका मि वल्र्ड, मि युनिभर्स तथा मि इण्डिया सङ्ग्राम चौगु पनि नेपाल आउने सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.