बुद्धिचाल प्रतियोगिताको उपाधि हमाललाई
भक्तपुर, ४ असोज : भक्तपुरमा सम्पन्न राष्ट्रव्यापी -यापिड बुद्धिचाल प्रतियोगिताको च्याम्पियनको उपाधि काठमाडौँका मनिष हमालले हात पारेका छन् ।
नेपाल क्रान्तिकारी युवा सङ्घको २८औँ स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगितामा हेटौँडाका कृष्ण थापा दोस्रो, काठमाडौँका केशव श्रेष्ठ तेस्रो, ललितपुरका बद्रीलाल नेपाल चौथो, भक्तपुरका राजाराम दुवाल पाचौँ र झापाका राजन सुवेदीले छैटौँ भएका छन् ।
त्यसैगरी उत्कृष्ट स्थानीयतर्फ गणेशराम दुवाल, उत्कृष्ट अनरेटेड सुरेश बजिको, उत्कृष्ट भेट्रान भगवतीप्रसाद शर्मा, उत्कृष्ट जुनियर निकेन कुसाथा, उत्कृष्ट महिला स्नेहा यादव, उत्कृष्ट इलो खुमप्रसाद तिमिल्सिना र सन्तोष गौतम तथा उत्कृष्ट खेलाडीको उपाधि विजय तमताले हात पारेका छन् ।
च्याम्पियनलाई नगद रु १५ हजार तथा दोस्रो, तेस्रो र चौथोलाई क्रमशः रु १० हजार, रु ६ हजार र रु चार हजार र पाँचौँ हुने खेलाडीलाई दुई हजार रुपैयाँ पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ । छैटौँदेखि १०औँ स्थानमा आउने खेलाडीले भने पनि जनही रु एक हजार र प्रमाणपत्र प्रदान गरिएको सङ्घका अध्यक्ष मीनबहादुर बाटाले जानकारी दिनुभयो ।
अनरेटेडतर्फको सर्वोत्कृष्ट, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट महिला र बेस्ट इलोसहित उत्कृष्ट १७ जना खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १३ जिल्लाका ८८ जना खेलाडीको सहभागिता रहेको थियो ।
