अनिलकेशरी शाह एन्फाको सल्लाहकारमा नियुक्त
काठमाडौँ, २ असोज : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सल्लाहकारमा अनिलकेशरी शाह नियुक्त हुनुभएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी रहनुभएका शाहलाई आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कर्पोरेट सल्लाहकारमा नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई नियुक्त गरेको जानकारी दिनुभयो । “नेपाली फुटबलको विकासका लागि शाहलाई सल्लाहकार नियुक्त गरेको हो, नेपाली फुटबलको विकासमा उहाँको योगदान छ,” शेर्पाले भन्नुभयो ।
यसअघि व्यवसायी सुरज वैद्य र विष्णुकुमार अग्रवाललाई समेत एन्फाले सल्लाहकारमा नियुक्त गरिसकेको छ ।
अघिल्लो पटक शाह नबिल बैंकको प्रमुख कार्यकारी हुँदा नेपाली फुटबलमा कर्पोरेट लगानी शुरु भएको थियो । त्यतिबेला शाहकै अग्रसरतामा ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई नबिल बैंकले प्रायोजन गरेको थियो । पछि शाह मेगा बैंकमा हुँदा पनि थ्री स्टारलाई प्रायोजन गरेको थियो ।