आइटिएफ टेनिसमा महिला एकलतर्फ नेपालको सुखद नतिजा 

कास्की, २९ माघ : पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको प्रतिष्पर्धामा नेपाली खेलाडीले सुखद नतिजा हासिल गरेका छन् । अघिल्लो दिन पुरुष एकलतर्फको खेलमा नेपालले खराब प्रदर्शन गरे पनि आज भएको महिला एकलको प्रतिष्पर्धामा भने प्रेरणा कोइराला, अभिलाशा विष्ट र सलोनी तामाङ विजयी हुनुभयो ।

अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही माघ २७ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपालका कोइरालाले जापानका केइदे हातनोलाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा पराजित गर्नुभयो । त्यसैगरी विष्टले भारतका मिली चुगमाथि ६–३ र ६–२ को सोझो सेटको जित हासिल गर्नुभयो भयो भने तामाङले हङकङका एरिका कामना हागीलाई ६–२ र ६–३ को सेटमा पराजित गर्नुभयो ।

नेपालका श्रवाणी श्रेष्ठ भने भारतीय खेलाडी गर्गी परवारसँग ६–० र ६–१ को सोझो सेटमा पराजित हुनुभयो । चीनका हुवाई चाङले भारतीय खेलाडी हर्दिया शालाई ६–२, ४–६, ६–४, चीनकै सुहाङ लियाङले मलेसियाका हुई ईल सुलाई ७–५ को समान सेट तथा जापानका अइका नागासावाले भारतका रिया उबोभेजालाई ६–३ र ६–४ को सेटमा जित निकाल्नुभयो ।

पुरुष व्यक्तिगततर्फको प्रतिस्पर्धामा जापानका साटोरु नाकाजिमाले भारतीय खेलाडी हीरक भोरालाई ६–३ र ६–० को सोझो सेटमा पराजित गर्नुभयो भने भारतका आर्यन लक्ष्मणले भारतकै आदित्य वरदान रोय चौधरीलाई ७–५ को समान सेटमा पराजित गर्नुभयो ।

भारतीय खेलाडी कृष्ण होडाले हङकङका म्याक्स सुन हाङ वाकमाथि ६–१ र ६–२ को सेटमा जित निकाल्नुभयो भने जर्मनका पाउल अर्मिन अल्ब्रक्टले फ्रान्सका लुकास फन्तलालाई ६–२ र ६–४ को सेटमा पराजित गर्दा जापानका शोगो साण्डाले भारतीय खेलाडी प्राञ्जल तिवारीलाई ३–६, ६–०, ६–२ को सेटमा जित निकाल्नुभयो । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा नेपालका सम्याक बज्राचार्य र आर्यन गिरीको जोडी ६–३ र ६–४ को सेटमा भारतका आदित्यवरदान रोय चौधरी र जैसभिन सिन्दाको जोडीसँग पराजित हुनुभयो ।

जापानका साटुरो नाकाजीमा र शोगो साण्डाको जोडीले मलेसियाका हेडन खु मेनन र जापानिज खेलाडी रोहिइ मियाकी को जोडीलाई ६–१, ७–५ को सेटमा पराजित गर्नुभएको प्रतियोगिता संयोजक सूर्य भुजेलले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता खेलाडीले अङ्क प्राप्त गर्ने र प्राप्त अङ्कका आधारमा खेलाडीको वरियता निर्धारण हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.