उपराष्ट्रपति कप : आर्मी विजयी
काठमाडौँ, १३ साउन : उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।
प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले रौतहटलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौँलाई पराजित गरेको थियो ।
आर्मीको लागि शर्मिला थापाले दुई र दीपा राईले एक गोल गरेका थिए । थापाले खेलको नवौँ मिनेटमा तथा राईले १२औँ मिनेटमा गोल गरेका थिए । रौतहटका लागि एकमात्र गोल रश्मीकुमारी घिसिङले खेलको ६८औँ मिनेटमा गरेकी थिइन् ।
तेक्वान्दोमा नेपाललाई पाँच स्वर्ण
अस्ट्रेलियामा भएको गोल्ड कोस्ट खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण जितेको छ ।
अष्ट्रेलियास्थित क्यारेरा इन्डोर रंगशालामा आज भएको खेलमा नेपालका सितु सिंह मास्के, अभिनव शाक्य, विधान श्रेष्ठ, दीपेश खत्री र रेजिना कार्कीले स्वर्ण पदक जितेका हुन् ।
सितुले फाइटतर्पm कलर बेल्ट ४६ किलोमुनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले अस्ट्रेलियाकी एमि लिलाई १२–३ अंकले पराजित गरेकी प्रशिक्षक कुमार लामा घिसिङले जानकारी दिनुभयो ।
यस्तै अभिनवले कलर बेल्टकै ४७ किलोमुनिको तौल समूहमा फाइनलमा अस्ट्रेलियाका ट्रोए विलियम्सलाई ९–४ अंकले हराउँदै स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी फाइटतर्फ पुरुष ४५ किलोमुनिको तौल समूहमा विधान श्रेष्ठले ५१ किलो तौल समूहमा दीपेश खत्रीले स्वर्ण पदक जितेका छन् । बाह्रौँ सागमा रजत पदक विजेता रेजिना कार्कीले स्वर्ण तथा ६३ किलो तौल समूहमा सरमुला मियाँले रजत पदक जितेका छन् ।