दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स विजयी

काठमाडौँ, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिमलाई २–० गोलले पराजित गरेको हो ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ७८औँ मिनेटमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जनले पहिलो गोल गर्नुभएको थियो । उहाँले साउलो डि अक्विनोको पासमा गोल गर्नुभएको हो । खेलको ८०औँ मिनेटमा विदेशी खेलाडी वाग्नर डि कार्मोले फ्रेन्ड्सका लागि दोस्रो गोल गर्नुभयो । उहाँको प्रहार न्युरोडका गोलरक्षक अजित प्रजापतिलाई लागेर गोलमा परिणत भएको थियो ।

जितसँगै १४ अङ्कसहित फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लेको छ । न्युरोड १५ अङ्कका साथ सातौँ स्थानमा छ । लिगको ११औँ चरणका खेल बिहीबारदेखि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.