प्रेसिडेन्ट कप ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

काठमाडौँ, २४ पुस : नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पुरुष एकल यु १९ तर्फको क्वाटरफाइनल खेलमा प्रिन्सले भारतका आयन रशिदलाई २–० सेटले पराजित गर्नुभयो । उहाँले उक्त खेल २१–१० र २१–९ अङ्कले जित्नुभयो ।

यसअघि प्रिन्स भारतकै आर विकास प्रभुलाई हराउँदै क्वाटरफाइनलमा पुग्नुभएको हो । मिक्स डबल्सतर्फ भने उहाँ पराजित हुनुभयो । प्रिन्स र रसिला महर्जनको जोडी भारतका आयन रशिद र तस्निम मिरको जोडीसित २४–२६, २१–१४ र २१–८ अङ्कले पराजित भएको हो ।

यस्तै महिला एकलतर्फ निता लम्सालले नेपालकै निलिमा महरालाई २१–१२ र २१–६ अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गर्नुभएको छ । मिक्स डबल्सतर्फ निता र गोकुल जोराको जोडीले नेपालकै नरेन्द्र बम र निलिमा महराको जोडीलाई २१–१६ र २१–१३ अङ्कले हराएर सेमिफाइनल पुगेको छ ।

यसैगरी पुरुष एकलतर्फ नेपालका नरेन्द्र बम श्रीलङ्का दुमिन्दु अवेविक्रमासित २१–७ र २१–९ अङ्कले पराजित हुनुभयो । पुरुष एकलतर्फ भारतका अविन वशिष्ठले श्रीलङ्काका दिगायु कहातापितियालाई २१–१५ र २१–८ अङ्कले तथा भारतका मिरब लुवाङले आफ्नै देशका शिवमकुमार मिश्रलाई २१–१२ र २१–१६ अङ्कले हराएर सेमिफाइनल प्रवेश गर्नुभएको छ ।

महिला एकलतर्फ रसिला महर्जन मलेसियाकी करुपथेभन लेत्शानासित २१–१४ र २१–१२ अङ्कले पराजित हुनुभयो । नेपाली सीमा राजवंशी भारतकी अनुपमा उपाध्यायसित २१–९ र २१–७ अङ्कले हार्नुभयो । पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जेवी साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीसित २१–१६ र २१–१२ अङ्कले हार्नुभयो ।

श्रीलङ्काका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१० र २१–१० अङ्कले तथा भारतका आर विकास प्रभु र अरुण कार्थिकको जोडीले नेपालका गोकुल जोरा र प्रियान्शुसिंह क्षेत्रीको जोडीलाई २१–१० र २१–१८ अङ्कले पराजित ग¥यो । मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सीमा राजवंशीको जोडीले अमृत चौधरी र विस्ना विष्टको जोडीलाई २१–१४ र २१–१० अङ्कले हरायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.