विभागीय टोली पुलिस र आर्मीको जित
काठमाडौँ, १६ पुस : नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गराएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गराएको हो । जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
पुलिसको जितमा दुवै गोल सुमन लामाले गर्नुभयो । खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाउनुभयो । त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।
खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाउनुभयो । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित हुनुभयो । पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ ।
थ्री स्टारमाथि आर्मीको सहज जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो ।
खेलको ९० औं मिनेटमा थ्री स्टारले पेनाल्टीमा एक गोल फर्काउने मौका गुमाएको थियो । थ्री स्टारका रुपेश केसीको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।
जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ ।
थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ ।
