ब्रिजवाटर कपको उपाधि सैनिकको पोल्टामा

भक्तपुर, १२ पुस : एक लाख रुपैयाँ नगद पुरस्कारसहित उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप फुटबल प्रतियोगिताको उपाधि भक्तपुरको सैनिक आवासीय महाविद्यालयले हात पारेको छ । आज भएको फाइनल खेलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि हात पारेको हो ।
काठमाडौं उपत्यकाका ३२ वटा स्कुल तथा कलेजको सहभागिता रहेको प्रतियोगितामा ५० हजार रुपैयाँ नगद पुरस्कारसहित साइपाल एकेडेमी उपविजेता भएको छ । फाइनल खेलमा च्याम्पियन बनेको सैनिकको जीतको लागि विश्रान्त बस्नेतले दुई गोल गरेका थिए भने कप्तान पुकार भण्डारीले अर्को गोल गरेका थिए ।
प्रतियोगिताको फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित विश्रान्त समग्र उत्कृष्ट डिफेन्डरको समेत उपाधि हात पारे भने प्रतियोगिताभरि एउटा पनि गोल नखाएको सैनिककै गोलरक्षक आशिष बस्नेतले उत्कृष्ट गोलकिपरको उपाधि हात पारे । सैनिककै कमल गुरुङ उत्कृष्ट मिड फिल्डर र बाबुकाजी धौबञ्जार उत्कृष्ट कोचको उपाधि पाए ।
प्रतियोगिताको उपविजेता साइपालका सञ्जीव लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए भने आयोजक ब्रिजवाटरका प्रजन राई उत्कृष्ट स्ट्राइकर घोषित भए । त्यस्तै कौशल्टारको आदर्श जनप्रेमी विद्यालयले अनुशासित टिमको पुरस्कार हात पा¥यो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीमसँगै उत्कृष्ट खेलाडीलाई आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र प्रदान गर्नुभयो ।
युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले देशभरका प्रत्येक स्थानीय तहमा एक/एक वटा खेलग्राम निर्माण गर्ने बताउनुभएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुरथिमि नगरपालिका– २ सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा गत २८ गतेदेखि आयोजना गरेको प्रतियोगिताको आज फाइनल खेलपछि विजेता उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “सरकार तल्लो तहबाटै खेलकूद तथा खेलाडीको विकास गर्नुपर्छ भनेर लागिरहेको छ, देशका ७५३ वटै तहमा अब एकएक खेलग्राम निर्माण गर्ने अवधारणाअनुसार मन्त्रालयले काम थालेको छ”, मन्त्री विश्वकर्माले भन्नुभयो, “देशका सातै प्रदेशमा एक÷एक सुविधासम्पन्न रङ्गशालासमेत निर्माण गर्दैछौँ, भक्तपुरमा पनि सुविधासम्पन्न रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाएका छौँ ।”
सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उहाँले अब खेलाडीले खेलकूदमा लागेर निराश हुनुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । तेह्रौँ सागले खेलकूदमार्फत देशको गौरव बढाउन सकिन्छ भन्ने भनाइ पुष्टि भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले १४औँ दक्षिण एशियाली खेलकूद (साग) मा ७५ वटा स्वर्ण पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै काम भइरहेको बताउनुभयो ।
उच्च माध्यमिक विद्यालय सङ्गठन (हिसान) का अध्यक्षसमेत रहनुभएका सिलवालले भन्नुभयो, “योजनाबद्ध तयारी, कडा प्रशिक्षण र खेलाडीको मेहनतको परिणाम १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा ५१ वटा स्वर्ण जित्न सफल भयौँ, अब २०२० मा बङ्गलादेशमा हुने १४औँ सागमा ७५ वटा स्वर्णपदक जित्ने लक्ष्यसहित काम शुरु गरेका छौँ ।”
एसइई परीक्षा दिएर बसेका १८ वर्षमुनिका खेलाडीको देशभरबाट छनोट गरी १६८ खेलाडीलाई लिग गर्ने बताउँदै उहाँले उनीहरुलाई देशका १५ कलेजमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरी शुक्रबार र शनिबार प्रशिक्षणको व्यवस्था गर्दै लिग प्रतियोगिता गरिने बताउनुभयो ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले हिसानसँग मिलेर कलेज पढ्ने खेलाडीको लिग गर्न एन्फा तयार रहेको बताउनुभयो । त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुर युथ एशोसियनका अध्यक्ष एवं एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले मध्यपुरथिमिले पनि राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्नेगरी कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
