भलिबलका खेलाडी सम्मानित

काठमाडौँ, २४ भदौ : नेपाल भलिबल सङ्घले १८ औँ एशियाली खेलकूदमा १५औँ स्थान हासिल गरेको पुरुष भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ । सङ्घले प्रत्यक खेलाडी, पदाधिकारी र व्यवस्थापकलाई जनही रु १० हजारका दरले पुरस्कारसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा मुख्य प्रशिक्षक लेस्ली डे जोङ, प्रशिक्षक जगदीश भट्ट, व्यवस्थापक भरतबहादुर शाह तथा खेलाडीमा इमबहादुर मगर ९कप्तान०, कुलबहादुर थापा, राजु शेरचन, दीपकराज जोशी, विशाल विक, मानबहादुर श्रेष्ठ, हरि अधिकारी, भैरव वम, ईश्वर थापामगर, नरेन्द्र गिरी, धनबहादुर भट्ट र दुर्गा महतो छन् ।

सो अवसरमा सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले एशियाली खेलकूदमा हासिल गरेको सफलताले दक्षिण एशियाली खेलकूदमा थप हौसला पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एशियाली खेलकूदमा नेपाल दक्षिण कोरिया र चाइनिज ताइपेइसँग समूह चरणमा पराजित भएको थियो । त्यसपछि वरियता निर्धारण गर्न भएको ‘प्लेअफ’अन्तर्गतको खेलमा नेपालले मङ्गोलियालाई पराजित गर्न सफल भयो भने कीर्गिस्तानले वाकओभर दिएपछि नेपालले १५औँ स्थान हासिल गरेको थियो ।

नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.