ह्याण्डबल टोली विदेश प्रस्थान 

१३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि वैदेशिक प्रशिक्षणमा सहभागी हुने नेपाली पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल टोलीलाई बिहीबार पोखरामा बिदाई गरिँदै । तस्वीरः कृष्ण दवाडी

पोखरा, २८ कात्तिक : राष्ट्रिय ह्याण्डबलको महिला तथा पुरुषको टोली प्रशिक्षणका लागि आज भारत र थाइलैण्ड प्रस्थान गरेको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रशिक्षणका लागि ह्याण्डबल टोली तीन महिनादेखि पोखरामा थियो । पुरुष ह्याण्डबल टोली भारतको पटियाला तथा महिला टोलीले थाइल्याण्डको बैंककमा अभ्यास गर्ने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । दुवै टोलीलाई पोखरा रङ्गशालामा राष्ट्रिय झण्डासहित बिदाइ गरिएको थियो । सो अवसरमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले १३औँ सागमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने बताउनुभयो ।

सङ्घका अध्यक्ष गुरुङका अनुसार बैंककमा महिला टोलीले स्थानीय विश्वविद्यालयका टोलीसँग १० देखि १२ मैत्रीपूर्ण खेल खेल्नेछ । भारतमा पुरुष टोलीले त्यहाँका स्थानीय टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै टोली आगामी मङ्सिर १२ गते स्वदेश फर्कने कार्यक्रम छ । तेह्रौँ सागअन्तर्गत ह्याण्डबल खेल पोखरा रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.