आर्मीलाई हाम्रो गोल्डकपको उपाधि 

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप अन्तर्गत झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङगशालामा भएको फाइनल खेलमा विजय भएपछि उपाधि उचाल्दै विभागीय टोली त्रिभूवन आर्मी क्लबका खेलाडीहरु । तस्वीर: सन्तोष शर्मा, झापा

बनियानी, २५ कात्तिक : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ ।

आज भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि चुमेको हो । आर्मीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी पहिलो र दोस्रो हाफमा एक÷एक गोल गरेका थिए । खेलको ३२औँ र ८०औँ मिनेटमा बुढाथोकीले गोल गरेका हुन् । बुढाथोकी गोल्डकपकै उत्कृष्ट खेलाडि घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट मिड फिल्डर चर्च ब्वाइजका सुनिल खड्का, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टङ्क बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने बनेका छन् ।

विजेता आर्मीले नगद रू १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद रु छ लाख २५ हजार पुरस्कार पाएका छन् । विजेता तथा उपविजेतालाई प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गर्नुभयो । भारतका दुई टोलीसहित १० टोली सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप अन्तर्गत झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङगशालामा भएको फाइनल खेलमा विजय भएपछि उपाधि उचाल्दै विभागीय टोली त्रिभूवन आर्मी क्लबका खेलाडीहरु तथा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर: सन्तोष शर्मा, झापा

‘खेलकूद प्रदेश सरकारको प्राथमिकतामा’

प्रदेश नं– १ का मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । सो गोल्डकपको समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रमा युवाको आकर्षण बढ्दै गएकाले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताउनुभयो ।

“खेलकूदका लागि प्रदेश नं १ उर्वरभूमि हो, खेलप्रति युवाको लगाव र आकर्षण पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा खेलकूदलाई विशेष प्राथमिकता दिएको छ ।” हरेक क्षेत्रको समुचित विकासले मात्र समृद्धि हासिल हुने बताउँदै उहाँले खेलकूद पनि समृद्धिको मुख्य पाटोका रुपमा रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.