भारत–द अफ्रिका टेस्टः भारत बलियो स्थितिमा
पुणे, २३ असोज : भारतको पुणेमा बिहीबारदेखि शुरु भएको भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ ।
भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले १०८ रन बनाएका छन् । मौसम खराब भएपछि निर्धारित ९० ओभरको खेलमा ८५.१ ओभर मात्र खेल भएको थियो जसमा भारतले तीन विकेटको क्षतिमा २७३ रन बनाएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको भारतका लागि कप्तान विराट कोहली ६३ रन बनाएर क्रिजमा छन् । उनलाई अजिन्क्या रहाणेले १८ रन बनाएर साथ दिइरहेका छन् ।
भारतीय प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा १४ र चेतेश्वर पुजाराले व्यक्तिगत ५८ रन बनाएर आउट भइसकेका छन् ।
दक्षिण अफ्रिकाका लागि युवा बलर कागिसो रबाडाले ४८ रन दिएर ३ विकेट लिएका थिए । बलरका लागि खासै मद्दत नदिएको पुणेको पिचमा दक्षिण अफ्रिकी बलरहरुले विकेटका लागि दिनभर मेहनत गर्नु परेको थियो ।
यसअघि विशाखापट्नममा खेलिएको पहिलो टेस्ट भारतले जितिसकेको छ । यी दुईबीचको तेस्रो तथा अन्तिम टेस्ट राँचीमा हुनेछ ।
