प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा स्वागत
पोखरा, १९ भदौ : इण्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमा रजत पदक दिलाउने खेलाडीलाई आज पोखरामा भव्य स्वागत गरिएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गर्नुभयो ।
प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई उहाँहरुले फूलगुच्छाले स्वागत गर्नुभएको हो । त्यसपछि खेलाडी टिमलाई गाडीमा राखेर पोखरा विमानस्थलदेखि बाजा–गाजासहित नगरका मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबैंक चोक, सिर्जनाचोक, नयाँ सडक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकलगायत विभिन्न स्थान हुँदै पोखरा रङ्गशालामा सम्मानका लागि लगिएको थियो ।
नगर परिक्रमाका क्रममा खेलाडी, स्थानीय, जनप्रतिनिधि, समाजसेवीको सहभागिता थियो भने कतिपय नगरवासीले आ-आफ्ना घरअगाडि स्वागतका लागि घडा राखेका थिए ।