इन्टरनेटको भरमा साग खेलकूदको तयारी गर्दै महिला कुस्ती खेलाडी

शेरबहादुर सिंह । भीमदत्तनगर, ३० असार : दुई वर्ष अघि १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालबाट प्रतिनिधित्व गरेकी कुस्ती खेलाडी कविता पुन यतिबेला कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणमा छिन् । आगामी मङ्सिरमा नेपालमै हुने १३औँं साग प्रतियोगितामा कविताले ५९ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । उनी कभर्डहलमा कुस्तीको अभ्यास निकै मेहनतका साथ गर्दैआएकी छिन् ।

तेह्रौँ साग खेल्ने तयारीमा रहेकी कविता अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको अनुभव लिइसकेकी एक्ली महिला खेलाडी हुन् । उनीसँंगै हाल १० खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरु गत वर्ष चैतमा सम्पन्न वृहत् आठाँैं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक जितेका विभिन्न तौल समूहका खेलाडी हुन् ।

नेपालमा छोटो समयमा कुस्तीमा प्रतिभावान महिला खेलाडी देखा परेका छन् । भारतमा सम्पन्न १२आँैं सागमा पहिलो पटक कुस्ती समावेश गरिएको थियो । उक्त प्रतियोगितामा नेपालबाट दश तौल समूहमा महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरु सहभागितामै सीमित रहे ।
सागको १३आँैं संस्करणमा नेपाली महिला खेलाडी दोस्रो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हँुदैछन् । बन्दप्रशिक्षणमा जुटेका खेलाडी आफ्नै देशमा हुने सो प्रतियोगितामा पदक दिलाउन सक्दो मेहनत गरिरहेका छन् ।

पचासदेखि ७६ किलो तौल समूहमा समावेश हुने महिला खेलाडी बाह्य प्रशिक्षण र दक्ष प्रशिक्षकबाट प्रशिक्षण नपाएकामा चिन्तित छन् । “विदेशमा तालीम पाएको भए नयाँनयाँ ‘टेकनिक’ सिक्न पाइन्थ्यो, अनुभवी खेलाडीसँगको अभ्यासले पदक जित्न मद्दत पुग्थ्यो”, कविताले रासससित भनिन्, “खेल सामग्री पर्याप्त नहुँदा जेनतेन अभ्यास गर्नु परिरहेको छ ।”

कविताले कुस्ती खेल्न थालेको पाँच वर्ष मात्र भयो । दक्ष प्रशिक्षक र विदेशमा अभ्यासको व्यवस्था गर्नुपर्ने उनको माग छ । “बेला बेलामा अभ्यास र प्रतियोगिता खेल्न पाए देशलाई पदक दिलाउन सक्छौँ”, उनले आत्म विश्वासका साथ भनिन् । परम्परागत सिकाइ र खेल सामग्री अभावले नपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकविहीन बन्नुपरेको कविताको भनाइ छ । “वर्षौँदेखि एकनासको प्रशिक्षण छ, नाम मात्रको अभ्यासले विदेशी खेलाडीसँग प्रतिस्पर्धा सहज छैन”, उनले भनिन् ।

उनले इन्टरनेटमा हेरेरै कुस्तीको अभ्यास गर्दै आएकी छिन् । “नयाँ नयाँ ‘टेकनिक’ थाहै हुँदैन, इन्टरनेटमा विदेशी खेलाडीको अभ्यास हेरेर त्यसलाई पछ्याउने हो”, कविताले भनिन् । यस्तै सागमा ५० किलो तौल समूहमा प्रतिस्पर्धाको तयारीमा रहेकी मनिषा सिंह कवितासँगै यति बेला भीमदत्त नगरमा अभ्यासमा जुटेकी छिन् । कुस्ती खेल्न थालेको दुई वर्षमै उनले वृहत् राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन् । उक्त पदकले मनिषाको चर्चा चुलिएको हो । “राष्ट्रियस्तरको बन्द प्रशिक्षणमा छौँ, तिर्खा लाग्दा प्यास मेटाउन पानी घरबाटै ल्याउनुपर्ने बाध्यता छ”, सिंहले पीडा सुनाइन्, “पदक प्राप्तिका लागि सक्दो मेहनत गरिरहेकी छु ।”

सागमा आफूहरुभन्दा भारतीय महिला खेलाडी मात्र अब्बल रहेको बन्दप्रशिक्षणमा रहेकी शृजाशु गिरी बताउँछिन् । “भारतसम्म लगेर अभ्यासको व्यवस्था गरेको भए खेलमा धेरै सुधार हुन्थ्यो”, गिरीले भनिन् । “पदक प्राप्तिका लागि खेल्ने हो, यसको वातावरण राज्यले बनाइ दिनुपर्छ ।” बन्द प्रशिक्षणमा रहँदा सरकारबाट पाउनुपर्ने भत्ता नपाएको खेलाडीहरुले बताएका छन् ।

बन्द प्रशिक्षणमा खटिएका कुस्ती प्रशिक्षक राजेन्द्र चन्द सागमा महिला खेलाडीहरुले पदक जित्नेमा आशावादी छन् । “हाम्रो प्रतिस्पर्धा भारतीय खेलाडीसँग मात्र हो”, प्रशिक्षक चन्दले भने, “महिला खेलाडीले पदक जित्ने बढी सम्भावना रहन्छ ।” बन्द प्रशिक्षणमा रहेका १० खेलाडीमध्ये ६ महिला खेलाडी कञ्चनपुरकै उत्पादन हुन् । “छैटाँै वृहत् राष्ट्रिय खेलकूदमा महिला कुस्ती पहिलो पटक प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो । प्रतिभावान खेलाडी जन्मिए पनि राज्यको ध्यान नपुग्दा महिला कुस्ती ओझेलमा परेको प्रशिक्षक चन्दको भनाइ छ । अनेकन प्रयासपछि बन्दप्रशिक्षणका लागि ‘म्याटकभर’ आएको उनले बताए । “खेल सामग्रीको अभाव छ”, प्रशिक्षक चन्दको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.