एभरेष्ट म्याराथन जेठको दोस्रो सातामा 

मुना कार्की  : काठमाडौँ, २ जेठ : हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ ।

यही जेठ १५ गते हुने १७औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ ।

प्रतियोगितामा ४२.१९५ किमीको म्याराथन, ६० किमीको अल्ट्रा म्याराथन र २१ किमीको हाफ म्याराथनमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक विक्रम पाँडेकाजीले जानकारी दिनुभयो । उहाँले उक्त म्याराथन विश्वकै एक आकर्षक र साहसिक खेलका रुपमा विकास भएको चर्चा गर्दै सबै धावकलाई सम्बन्धित मार्गका हिमनदी, प्राचीन शेर्पा गाउँ तथा गुम्बाहरु र भौगोलिक विविधताको रसास्वादन गर्न अनुरोध गर्नुभयो ।

फुल म्याराथनको पुरुषतर्फका विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन् ।

त्यस्तै विदेशी प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र रु २५ हजार पाउने छन् ।

अल्ट्रा दौडका विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले रु ५० हजार पाउनेछन् । हाफ म्याराथनतर्फका विजेताले भने रु ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउनेछन् ।

प्रतियोगितामा यस वर्ष २२ वर्षे बेलायती क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा धावक हुने भएका छन् भने क्यानाडाका ६७ वर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा ज्येष्ठ धावक हुने भएका छन् ।

आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले उक्त प्रतियोगिताका लागि धावकहरु आजै सगरमाथा क्षेत्रतर्फ लाग्ने जानकारी दिनुभयो । म्याराथान उच्च हिमाली क्षेत्रमा आयोजना हुनेभएकाले धावकहरुलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिविर पुर्‍याइने उहाँको भनाइ थियो ।

प्रतियोगितामा नेपालसहित विश्वका ३० राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.